महतोको ‘समय–सीमा’का कारण दोस्रो चरणको निर्वाचन धरापमा !

महतोको ‘समय–सीमा’का कारण दोस्रो चरणको निर्वाचन धरापमा !


Rajendra-mahato-271x300

पहिलो चरणको मतादान सङ्घारमै छ । अनेक अन्योल र आशङ्का चिर्दै तोकिएको तिथिमा स्थानीय तहको निर्वाचन हुने माहोल बन्नुमा मधेसवादी दलहरूको लचकता अहम् कारक बनेको सर्वविदित नै छ । यसरी लचकता अपनाएकोमा मधेसी गठबन्धनको प्रशंसा भइरहेको बेला राष्ट्रीय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधनबिना तराईमधेशमा कुनै हालतमा चुनाव हुन नदिने चेतावनी दिएर अर्को तरङ्ग पैदा गरिदिएका छन् । राजधानीमा बिहिबार आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै महतोले संविधान संशोधनबिना गरिने चुनाव मधेशी जनतालाई मान्य नहुने बाए ।

प्रभावशाली मधेसी नेता महतोको कड़ा अभिव्यक्तिले दोस्रो चरणको चुनाव होला कि नहोला भन्ने आशङ्का पुनः जन्माइदिएको छ । किनकि, एकतिर महतोले संविधान संशोधनमा ठूला दलको नियत ठिक नदेखिएको दाबी गरेका छन् भने अर्कोतिर आगामी जेठ ४ भित्रै संविधान संशोधन हुने कुनै सम्भावना देखिएको छैन । ‘संविधान संशोधनका लागि आवश्यक दुई तिहाई बहुमत पुग्नै लाग्दा राप्रपामा अचानक भएको विद्रोह संशोधन रोक्न भएको ठूलो षड्यन्त्र थियो’ भन्दै महतोले यस घटनामा राप्रपा मात्र नभएर तीन ठूला दलका मधेशविरोधी नेताहरु पनि यस षड्यन्त्रमा सामेल रहेको आरोप लगाएका छन् । उनको यो अभिव्यक्तिलाई सामान्य रूपमा लिन मिल्दैन ।

संविधान संशोधनको विरूद्ध रहेका दलहरुबारे मधेशी जनतालाई राम्ररी ज्ञात भएको र अब हुने मधेश आन्दोलन यिनै दलहरूको खिलाफ हुनेकुरा महतोले प्रस्ट्याए । ‘मधेशी जनतालाई राम्ररी थाहा भई सकेको छ कुन दल संविधान संशोधनको पक्षमा छ र कुन दलले यसको विरोध गरेको छ ।’ मधेशी जनताले अबको आन्दोलनमा त्यस्ता दललाई ठीक पार्ने कुरा बताउँदै उनले संशोधनको विरोधमा रहेका र संशोधनबेगर चुनावमा सहभागी भएका दुबैलाई यसपाली मधेशी जनताले तह लगाउने बताए । उपेन्द्र यादव र संघीय समाजवादी फोरम तर्फ इंगित गर्दै राजपा नेता महतोले संविधान संशोधन बगैर चुनावमा सहभागी भएर संशोधन मुद्दालाई कमजोर बनाएको आरोप पनि लगाए ।

‘हाम्रा सहयात्री दलको कारण पनि संशोधन प्रक्रिया पछि धकेलिएको छ,। पहिले पुनर्लेखन नगरे यो संविधानलाई मान्दै नमान्ने र अहिले संशोधबेगर सुटुक्क चुनावमा सहभागी हुने दोहरो चरित्र यसपाली मधेशी जनताले राम्ररी बुझिसकेको छ । अबको आन्दोलन यस्ता प्रवृतिका नेता विरुद्ध पनि हुने छ’ महतोले ब्यङ्ग्यात्मक शैलीमा भने ।

संविधान संशोधनबिना राजप चुनावमा सहभागी नहुने स्पष्ट पार्दै महतोले संशोधन बाहेक आन्दोलनका क्रममा समातिएका र सोही क्रममा लगाइएका झूठा मुद्दाहरु पनि फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्रचण्ड सरकार गठनको बेला मधेशी मोर्चासँग गरिएको समझौताअनुरूप झूठा मुद्दा फिर्ता लिने र जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या बढाउने प्रक्रिया अगाडि बढाउन पनि उनले माग गरे । उनका अनुसार संविधान संशोधनलगायत स्थानीय तहको संख्या बढाउने र झुठा मुद्दा फिर्ता लिने काम आगामी ४ गतेभित्र नगरे राजपाको नेतृत्वमा संघीय गठबन्धनले कड़ा आन्दोलन थालिने छ ।