‘नेपाल लगानीका लागि उपयुक्त मुलुक’

‘नेपाल लगानीका लागि उपयुक्त मुलुक’


नेपालसँग कूटनीतिक सम्बन्ध भएका भन्डै ८२ देशका दिल्लीस्थित दूतावासलाई लक्षित गरेर नयाँदिल्लीमा आर्थिक सहकार्य तथा नेपालमा लगानीसम्बन्धी दुईदिने सम्मेलन सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रकाशरण महतबाट गत साता बिहीबार उद्घाटन गरिएको सम्मेलन शनिबार सम्पन्न भएको हो । सम्मेलनमा नेपालमा रहेको लगानीका वातावरणबारे दूतावासहरूलाई जानकारी गराइएको थियो भने सहभागीहरूले नेपाल लगानीका लागि राम्रो गन्तव्य भएको मन्तव्य दिएका थिए । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपाल सरकारले कानुनी पूर्वाधारहरू बनाइसकेको जानकारी दिँदै नेपाल क्रमशः लगानीमैत्री मुलुक बन्दै गएको बताएका थिए ।

सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रसचिव शङ्करदास वैरागीले शान्त र समृद्ध मुलुक नै नेपालको भिजन भएको तर्क गरेका थिए भने अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनीले नेपालको अर्थतन्त्रले गति लिइरहेको बताउँदै नेपालले खुला तथा उदार आर्थिक नीति लिएको जानकारी दिएका थिए । सम्मेलनमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, वाणिज्य मन्त्रालयका सचिव शङ्करप्रसाद कोइराला, पुनर्निर्माण प्राधिकरणका सीईओ गोविन्द पोखरेललगायतले नेपालका पक्षबाट अभिव्यक्ति दिएका थिए ।

यस्तै, हालै साउथ एसिया स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेर चर्चामा आएको मित्रराष्ट्र भारतले नेपाललगायत आफ्ना छिमेकी देशहरूलाई विशेष सुविधा दिने घोषणा गरेको छ । स्याटेलाइट सुविधा लिनका लागि आफ्नै अर्थ स्टेसन आवश्यक पर्ने भएकाले नेपालले तत्काल यसको लाभ पाउन भने नसक्ने देखिएको छ । किनकि, स्याटेलाइट प्रक्षेपणपछि भारतले नेपालका लागि दुई स्लटमा ३६ मेगाहर्ज सुविधा दिने घोषणा गरे पनि नेपालले उक्त सुविधा लिने क्षमताको विकास गरिसकेको छैन ।

Puri

यसैबीच नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई सम्मान गरिएको छ । गत साता जनकपुरधामस्थित होटेल सीताशरणमा नेपाल–भारत मैत्री युवा सङ्घले एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान तथा स्वागत गरेको हो । विभिन्न दलका नेता तथा सांसदहरू, युवा क्लबका प्रमुखहरू, सामाजिक अभियन्ता, स्थानीय उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतको उपस्थिति रहेको सम्मान कार्यक्रममा जनकपुर उद्योग वाणिज्य सङ्घ, महावीर युवा कमिटी, राम युवा कमिटी, रामानन्द युवा क्लब, कलवार सेवा समाज, मिथिला नाट्य कला परिषद् आदिले समेत राजदूत पुरीलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा मिथिला नाट्य कला परिषद्द्वारा सांस्कृतिक नृत्यको प्रस्तुतिसमेत दिइएको थियो ।