
पहिलो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण भएकोमा प्रशंसा गर्दै नेपालस्थित अमेरिकी दूतावासले दोस्रो चरणको निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायलाई पर्यवेक्षणका लागि अनुमति दिन आग्रह गरेको छ । दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय निर्वाचनको दोस्रो चरणमा निर्वाध रूपमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणलाई अनुमति दिनका लागि नेपाल सरकारलाई अमेरिका आग्रह गर्न चाहन्छ । यसो भएको अवस्थामा मान्यताप्राप्त कूटनीतिज्ञहरूलगायत अन्तर्राष्ट्रिय समुदायलाई निर्वाचनको पर्यवेक्षण गर्ने र परिणामलाई समर्थन गर्ने मौका मिल्छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जेठमा सम्पन्न हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि उचित वातावरण निर्माण गर्नका लागि हामी सरोकारवालाहरूलाई आग्रह गर्न चाहन्छौँ, जसले गर्दा प्रदेश नं. १, २, ५ र ७ का नागरिकलाई पनि स्थानीय प्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने यस्तै अवसर प्राप्त हुन सकोस् । आगामी निर्वाचनका लागि ३० दिनभन्दा कम समय बाँकी रहेको यस अवस्थामा हामी राजनीतिक सहमति कायम गर्ने प्रयत्नहरूलाई जारी राख्न आग्रह गर्दछौँ, जसमार्फत समावेशी प्रक्रियाका लागि स्थानीय निर्वाचनको दोस्रो चरणमा सकेसम्म धेरै मतदाता सहभागी बन्न सकून् । यसो भएको खण्डमा निर्वाचन प्रक्रियाको विश्वनीयता बढ्नेछ र मुलुकभर लोकतान्त्रिक रूपान्तरण बलियो बन्नेछ ।’
ज्ञातव्य छ, प्रदेश नं. ३, ४ र ६ का ३४ वटा जिल्लामा भएको पहिलो चरणको निर्वाचनमा ६ हजार ६ सय ४२ मतदान केन्द्रको पर्यवेक्षण गर्नका लागि नेपाली पर्यवेक्षकलाई मात्र अनुमति दिइएको थियो । पहिलो चरणको स्थानीय निर्वाचन पर्यवेक्षणका लागि आम निर्वाचन पर्यवेक्षण समिति जियोक, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकलगायत ४९ वटा सङ्घसंस्थाको तर्फबाट पर्यवेक्षकहरूले चुनावको पर्यवेक्षण गरेका थिए । जियोकका अध्यक्ष हिमालयशमशेर राणाका अनुसार, विभिन्न जिल्लामा जियोकका मात्रै तीन सय ५० पर्यवेक्षक खटिएका थिए । पहिलो चरणको निर्वाचनमा विदेशी पर्यवेक्षकलाई पर्यवेक्षणमा सहभागी नबनाइएकाले दोस्रोमा निर्वाचन आयोगले विदेशीलाई अनुमति दिने सम्भावना कम देखिन्छ । पहिलो चरणको निर्वाचन पर्यवेक्षणमा खासै रुचि नलिएको अमेरिकी दूतावासले दोस्रो चरणमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको सहभागिता किन चाहेको हो, त्यसबारे विभिन्न तर्क–वितर्क सुरु भएका छन् ।
प्रतिक्रिया