भारत रिसाउँदा चीनलाई घाटा

भारत रिसाउँदा चीनलाई घाटा


Bharat-China

छिमेकी राष्ट्रहरू भारत र चीनबीच उत्पन्न तनावका कारण भारतले चीनलाई सामेल गराउन लागेको अर्बौं डलरबराबरको आयोजना अन्य मुलुकतर्फ ‘डाइभर्ट’ गरेको छ । दिल्ली मुम्बई इन्डस्ट्रियल कोरिडोर परियोजना चीनलाई दिने नीतिगत निर्णय भए पनि पछि गएर चीनसँगको सम्बन्धमा तनाव उत्पन्न भएकोले जापान तथा अन्य मुलुकलाई दिइएको छ । ९० अर्ब डलरको परियोजना यसरी चीनबाहिर जानुमा भारत–चीन सम्बन्धमा उत्पन्न तनावबाहेक नेपाललाई पनि एक कारण मानिएको छ ।

भारत सरकारको यो विशाल परियोजना विश्वका दश ठूला परियोजनामध्ये पर्दछ । जसमा २४ वटा औद्योगिक क्षेत्र, ८ वटा स्मार्ट सिटी, दुई एयरपोर्ट, ५ वटा ऊर्जा आयोजनालगायत पर्दछन् । यी परियोजना निर्माणका लागि भारतले चीनसँग सहकार्य गर्ने लगभग तय भइसकेको थियो । तर, अहिले अकस्मात् जापानी तथा फ्रेन्च कम्पनीले यी परियोजना प्राप्त गरेका छन् । उक्त परियोजनामा ५ करोडजनाले रोजगारी प्राप्त गर्ने विश्वास गरिएको छ । जसमा मजदुरदेखि दक्ष प्राविधिक जनशक्तिको समेत सहभागिता रहनेछ ।

चीन र भारतबीचको सम्बन्धमा देखापरेको मनोमालिन्यले चीनको सम्भावित लाभमा त क्षति पुग्ने निश्चित भइसकेको छ । यसले नेपाललाई कुन हदसम्म प्रभावित तुल्याउने हो, जिज्ञासाको विषय बनेको छ ।