
प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्डअन्तर्गत युनाइटेड स्टेट्स आर्मी प्यासिफिकका कमाण्डिङ जनरल रवर्ट बी. ब्राउनको औपचारिक निमन्त्रणामा अमेरिका प्रस्थान गर्नुभएको छ । यही जेठ १२ सम्म हुने अमेरिका भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीद्वारा ‘यूएसपीएसीओएम’अन्तर्गतका फर्मेसनहरूको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । सो क्रममा उहाँले ‘यूएसएआरपीएसी’को कमान्डिङ जनरल रबर्ट बी. ब्राउन तथा २५औँ इन्फ्यान्ट्री डिभिजनका कमान्डिङ जनरल मे.ज. क्रिस्टोफर जी. क्याभोलीसँग औपचारिक भेटघाट गर्नुका साथै आपसी हितका विषयमा अन्तरक्रिया गर्नुहुनेछ ।
यसैगरी अमेरिकी सेनाका विभिन्न इकाइहरूद्वारा प्रस्तुत हुने ब्रिफिङ तथा सैनिक कला प्रदर्शनीको अवलोकनका साथै अन्य महत्वपूर्ण भेटघाटसमेत प्रधानसेनापतिबाट हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यस किसिमको उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट दुई देशबीच लामो समयदेखि रहँदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुनुको साथै नेपाली सेना तथा अमेरिकी सेनाबीचको आपसी सहयोग तथा सदभाव थप प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रधानसेनापतिकी धर्मपत्नी श्रीमती रीता क्षत्री, स्टाफ अधिकृतद्वय प्र.से. अर्जुन बस्नेत तथा सेनानी पूजा कार्कीसमेत संलग्न रहनुभएको भ्रमण दललाई बलाधिकृत रथी श्री वलदेव राजमहतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो । प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी बलदेवराज महतले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ ।
प्रतिक्रिया