कबीर उपासकहरू पीडामा

कबीर उपासकहरू पीडामा


Mainali 2

हरियाणा प्रान्त (भारत) सरकारले नेपालका भक्तजनहरूलाई झुठा मुद्दामा फसाएर अनावश्यक यातना दिइरहेको पूर्ण ब्रम्ह कबीर उपासक समाज नेपालले आरोप लगाएको छ । वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरी कबीर उपासक समाज नेपालका अध्यक्ष राम चरित्र महतोले यस्तो आरोप लगाएका हुन् ।

सञ्चारकर्मीसमक्ष महतोले दाबी गरेअनुसार भारतको हरियाणा प्रान्तको हिसार बरवालास्थित ‘सतलोक आश्रम’मा सन् २०१४ नोभेम्वर १४–१८ तारिखमा आयोजित सन्त रामपालको धार्मिक प्रवचन कार्यक्रममा सहभागी भक्तजनहरूमाथि एक्कासी हजारौँको संख्यामा रहेका प्रहरीहरूले चारैतिरबाट घेरा हालेर अश्रुग्याँस तथा लाठी प्रहार गरेका थिए । जथाभावी कुटपिट गरी सख्त घाइते बनाउनुका साथै प्रवचन सुनेर बस्ने ९ सय ५१ जना निर्दोष भक्तजनहरुलाई झुठो एवम् देशद्रोहको मुद्दा लगाएको विरोधमा यही जेठ ८ गते वीरगंजमा विरोध ¥याली तथा विरोधसभासमेत गरिएको थियो ।

उल्लेखित प्रवचन कार्यक्रममा नेपालबाट सहभागी भएका २४ जना भक्तजनलाई डेढ वर्षसम्म कैद गरी व्यापक यातना दिइनुका साथै सातजनालाई देशद्रोही र १७ जनालाई एक–एक लाख रुपैयाँ धरौटी लिई १५ दिने साधारण तारिखमा रिहा गरेका समाजका उपाध्यक्ष केशव मैनालीले बताए । अन्यायमा परेका नेपाली भक्तजनलाई आस्थाकै आधारमा थुनामा राखी दुःख दिएको भन्दै न्यायका लागि नेपालस्थित मानवअधिकारवादी सङ्घ–संस्था तथा परराष्ट्र मन्त्रालयलगायत विभिन्न निकायमा हारगुहार लगाउँदा पनि कुनै सुनुवाई नभएको मैनालीको गुनासो छ ।