यस्तो रहेछ एक भोटको महत्व !

यस्तो रहेछ एक भोटको महत्व !


स्थानीय निर्वाचनको पहिलो चरण सम्पन्न भए पनि चुनावका क्रममा घटित विभिन्न सुखद–दुःखद प्रसङ्गहरू समाचारका रूपमा खुलासा हुने उपक्रम जारी नै छ । जित्ने अनुमान गरिएका उम्मेदवार हारेका र हार्ने निश्चित ठानिएकाहरू विजयी बनेकादेखि पति–पत्नीको जोडी नै निर्वाचित भएका, टिकट नपाएर विद्रोही बनेकादेखि टिकट पाएपछि आत्महत्या गरेका, अत्यधिक मतान्तरले जितेका, झिनो मतान्तरले हारेकादेखि मत बराबर भएर गोलाप्रथाबाट चुनिएकाजस्ता अनेक किस्सा यसबीच सुनिएका छन् । काठमाडौंमा घटेको यस्तैमध्येको एक रोचक चुनावी प्रसङ्ग हेरौँ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकानिवासी इन्द्रबहादुर बरालकी नवविवाहिता बुहारी रमा आचार्यले उनको मतदाता नामावली रहेको माइतीगाउँ दक्षिणकाली नगरपालिका वडा नम्बर ८, छैमलेसम्म पुगेर मतदान गर्न जाँगर नचलाएको बुझेपछि बरालले बुहारीलाई मतदान गर्न प्रेरित गरे । रमालाई सम्झाउँदै बरालले भने, ‘हेर बुहारी, तिमीजस्ती सचेत नागरिकले मतदान गर्न अग्रसर नहुनु भनेको लोकतान्त्रिक अभ्यास अस्वस्थ बन्नु हो, विकास तथा समृद्धिको मार्ग अवरुद्ध हुनु हो र मुलुक नै पछि पर्नु हो । तिम्रो एक भोटले जित्नैपर्ने व्यक्ति हार्न सक्छ र नपाउनेले मौका पाउन सक्छ । त्यसैले अल्छी नमानीकन छैमले जाऊ र भोट खसाऊ ।’

ससुराको सल्लाह सुनेपछि रमालाई पनि मतदान गर्न जाऊँ–जाऊँ लाग्यो । उनले छैमलेको ८ नम्बर वडास्थित मतदान केन्द्रबाट भोट खसाइन् । नभन्दै उक्त वडाको चुनावी नतिजा आश्चर्यजनक देखाप¥यो । नेपाली काङ्ग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका राजन आचार्य र एमालेबाट उम्मेदवार बनेका सरोजकुमार बम्जनले पाएको मत बराबर थियो । अर्थात्, दुवैले ६३८–६३८ मत पाएका थिए । यदि रमा आचार्य बरालले मतदान नगरेकी भए एक भोटले बम्जन जित्ने निश्चित रहेछ, तर उनको मत काङ्ग्रेस उम्मेदवारलाई परेकोले मत बराबरी हुन पुग्यो । थप रोचकचाहिँ के भइदियो भने बराबरी मत आएकाले गोलाप्रथाबाट अध्यक्ष छनोट गर्ने सहमतिअनुसार गोलाप्रथा विधि अवलम्बन गर्दा नतिजा आचार्यको पक्षमा आइदियो, जसलाई रमा पनि वडाध्यक्ष छानिएको हेर्न चाहन्थिन् । एक भोटको महत्व कति हुँदोरहेछ भन्ने बुझ्न यो सन्दर्भ काफी छैन त ?

एक भोट