देउवाविरुद्ध भित्रभित्रै विद्रोहको तयारी

देउवाविरुद्ध भित्रभित्रै विद्रोहको तयारी


Bimalendra-sitaula

गत वर्ष काङ्ग्रेसको सभापति बनेपछि सर्वशक्तिमानझैँ देखिनुहुने शेरबहादुर देउवा यतिबेला कमजोर र चौतर्फी असन्तुष्टिको घेराबन्दीमा पर्नुभएको देखिँदै छ । केन्द्रीय कार्यसमितिलाई पूर्णता नदिएको र सबैलाई समेटेर अघि बढ्न नखोजेको भन्ने आरोपको सामना गरिरहनुभएका देउवाका आलोचकहरूले अब अनेकौँ मुद्दा अघि सारेर उहाँमाथि प्रहार गर्ने तयारी गरेका छन् । देउवाको सोच र कार्यशैलीप्रति असहमति जनाउनेहरूको सङ्ख्या काङ्ग्रेसभित्र दिन प्रतिदिन बढ्दै गएको छ । आफ्नै खेमाका विमलेन्द्र निधि पहिलेझैँ देउवाको ‘एस म्यान’ अब रहनुभएन ।

नेताहरू खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, गगन थापा, कृष्ण सिटौला र अर्जुननरसिंह केसीलगायतले पनि उपयुक्त समयमा देउवालाई ‘तह लगाउने’ सोच बनाएको बुझिन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कोइराला परिवारका नेता–सदस्यहरू देउवालाई साइजमा राख्ने उपयुक्त समयको प्रतीक्षामा देखिन्छन् । निर्वाचनको समय परेका कारण यतिबेला देउवाप्रतिको असन्तुष्टि नेताहरूले जानाजान सार्वजनिक नगरेका हुन् । दोस्रो चरणको निर्वाचनलगत्तै देउवामाथि पार्टी सभापति र संसदीय दलको नेता दुईमध्ये एक पद छाड्न बलियो दबाब दिने तयारी काङ्ग्रेसभित्र भइरहेको छ । देउवासँग असहमत कतिपय नेताले त विशेष महाधिवेशन बोलाएर उहाँलाई सभापति पदबाट मुक्त गर्ने सपनासमेत देख्न थालेका छन् ।

काङ्ग्रेसभित्र असन्तुष्टि बढिरहेको सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग घटना र विचारले सम्पर्क गर्दा उहाँले भन्नुभयो, ‘विभिन्न मुद्दामा पार्टी रक्षात्मक हुनुपर्ने, पार्टीको छवि खराब हुने जुन अवस्था बन्यो त्यसले हामीलाई चिन्तित बनाएको छ । पहिलो चरणको स्थानीय निर्वाचनको परिणामले पनि काङ्ग्रेसलाई सन्तुष्ट हुनुपर्ने ठाउँ दिएन । यसको जिम्मेवारी कसै न कसैले लिनुपर्छ । हामी यतिबेला चुनावी मैदानमा छौँ, दोस्रो चरणको निर्वाचनपछि समग्र समीक्षा हुन्छ र दोषीले यो स्थितिका निम्ति जिम्मेवारी लिन स्वीकार गर्नुपर्छ । अहिले योभन्दा बढी नबोलौँ ।’