स्टिकर टाँस्न नदिँदा सञ्चारकर्मीमाथि आक्रमण

स्टिकर टाँस्न नदिँदा सञ्चारकर्मीमाथि आक्रमण


Pandey

अर्घाखाँची । स्थानीय चुनाव नजिकिँदै गर्दा अर्घाखाँचीमा सञ्चारकर्मीलाई कुटपिट गरिएको छ । जिल्लाको मालारानी गाउँपालिका–८ रतनमारे बजारमा स्थानीय केही युवाले निर्घात कुटपिट गरेपछि सञ्चारकर्मी कृष्णप्रसाद पाण्डेको स्थिति गम्भीर बनेको बुझिएको छ । कामको सिलसिलामा सोमबार हंसपुरबाट सदरमुकाम जाँदै गर्दा उनी रतनमारे बजारमा रोकिएका थिए । त्यसक्रममा उनी सवार मोटरसाइकलमा माओवादी केन्द्रका कार्यकर्ताहरूले चुनावी प्रचारका सामग्री (स्टिकर) लगाउन खोज्दा पाण्डेले प्रतिवाद गरे । यसपछि आक्रोशित बनेका चुनावी कार्यकर्ताहरूले सञ्चारकर्मी पाण्डेमाथि आक्रमण गरेको स्थानीय कृष्णप्रसाद भुसालको भनाई छ ।

घटनापश्चात घाइते पाण्डेलाई जिल्ला अस्पताल पु¥याइएकोमा अस्पतालले रिफर गरेपछि भैरहवा मेडिकल कलेज पु¥याइएको थियो । तर, पाण्डेको टाउकोमा गम्भीर समस्या देखिएको कारण उनलाई प्राथमिक उपचारपश्चात भैरहवा मेडिकल कलेजले काठमाडौं रिफर गरेको र हाल वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको जानकारी मिलेको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालासँग जिज्ञासा राख्दा मामलाके अनुसन्धान भइरहेको र दोषीहरू चाँडै कानुनी दायरामा आउने बताए । नेपाल पत्रकार महासंघ र प्रेस चौतारी अर्घाखाँचीले प्रेस विज्ञप्ति जारी गरी सञ्चारकर्मीमाथिको हातपातलाई निन्दनीय कार्यको संज्ञा दिँदै घोर भत्र्सना गरेको छ । घाइते पाण्डे लुम्बिनी टेलिभिजनलगायतका मिडियामा कार्यरत छन् ।

– मुक्तिनाथ भुसाल