नेविसङ्घको आक्रामक चुनाव प्रचारको तयारी

नेविसङ्घको आक्रामक चुनाव प्रचारको तयारी


रूपन्देही । आसन्न स्थानीय तहको निर्वाचनलाई नेपाली काङ्ग्रेसको पक्षमा पार्न काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले प्रचारप्रसारलाई तीव्रता दिने भएको छ । यसका लागि सङ्घले प्रदेशस्तरीय प्रचार समिति गठन गरेको छ । नेपाल विद्यार्थी सङ्घको ५ नम्बर प्रदेशको बुटवलमा बसेको बैठकले सङ्घका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा पाँच हजार एक सदस्यीय प्रचार समिति गठन गरेको हो । बैठकले नेपाल विद्यार्थी सङ्घले सुरु गरेको ‘गाउँ जाऔँ, नगर जाऔँ, जनता जगाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियानलाई सफल बनाउन पार्टीले अघिसारेका उम्मेदवारलाई विजयी गराउने गरी प्रचारप्रसारमा सक्रियताका साथ लाग्न पनि विद्यार्थीलाई आह्वान गरेको छ ।

निर्वाचनको समयमा मतदातालाई भ्रमित पार्ने र मुलुकमा विखण्डन निम्त्याउने, सद्भाव भड्काउने, द्वन्द्व निम्त्याउने उग्र राष्ट्रवादको खोक्रो नारा एमालेले ल्याएको बताउँदै त्यसबाट सचेत हुनसमेत आममतदातालाई आग्रह गरिएको छ । हिमाल, पहाड र तराईलाई तोड्ने गरी मधेसी जनताका विरुद्धमा ल्याएको एमालेको मधेसबिनाको राष्ट्रवाद अपूरो रहेको नेपाल विद्यार्थी सङ्घका सहमहामन्त्री प्रकाश घिमिरेले बताए । यसविरुद्ध नेपाल विद्यार्थी सङ्घले अभियान सञ्चालन गर्नेसमेत निर्णय गरिएको छ ।

सङ्घले नेपाली काङ्ग्रेसले अघिसारेको उम्मेदवारविरुद्धमा नलाग्न सम्बद्ध सबैलाई आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्न हुने विद्यार्थीलाई सङ्घको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिने जनाएको छ । यस्तै, वैज्ञानिक र व्यावहारिक शिक्षालाई विगतदेखि नै जोड दिँदै आएको बताउँदै प्रदेश संयोजक प्रकाश रानाले पढाइ सकिएको दिन एक हातमा प्रमाणपत्र र अर्को हातमा नियुक्तिपत्र हुने गरी प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालयको स्थापनाको माग गरेका छन् ।

यसैबीच राजनीतिक दलहरूको सहकार्य भएमा रूपन्देहीको तिलोत्तमा नगरपालिका देशकै नमुना नगर बन्ने एक कार्यक्रमका सहभागीले जिकिर गरेका छन् । सुरक्षित यात्रा अभियान नेपाल रूपन्देही र तिलोत्तमा व्यापार सङ्घको संयुक्त आयोजनामा मणिग्रामका भएको बुटवल–बेलहिया सडक निर्माण तथा आधुनिक नगर निर्माणमा जनसरोकार विषयक अन्तरक्रिया कार्यक्रमका सहाभागीले दलीय सहकार्य भए तिलोत्तमा नगरपालिका नमुना नगर बन्न कसैले रोक्न नसक्ने तर्क गरे ।

तिलोत्तमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन पौडेलले आफूहरूले तिलोत्तमा नगरपालिका नेपालकै नमुना नगरपालिकाको रूपमा विकास गर्ने गरी गुरुयोजना तयार पार्दै गरेको दाबी गर्दै यसका लागि दलीय सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताए । नरपालिकाका भित्री बाटोसमेत २० मिटरभन्दा कम नभएको भन्दै उनले भविष्यमा स्मार्ट सिटीको रूपमा विकास गर्न यहाँ कुनै बाधा नरहेको दाबी गरे ।

कार्यक्रममा नेकपा एमाले तिलोत्तमा नगर इन्चार्ज मोहन चापागाईं, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष लक्ष्मण खनाल, राष्ट्रिय जनमुक्ति पार्टी नेपालका तिलोत्तमा नगर अध्यक्ष राजु रानाका अलावा तिलोत्तमा व्यापार सङ्घका अध्यक्ष जेपी कँडेल, नेपाल अटोमोबाइल्स एसोसिसएन सङ्घ (नासा)का महासचिव गोविन्द भट्टराई, बुटवल–बेलहिया सडक विस्तार आयोजनाका इन्जिनियर योगेन्द्र भण्डारी, सुरक्षित यात्रा अभियान नेपाल रूपन्देहीका महासचिव दिनेश पाण्डेलगायतले आफ्ना धारणा राखेका थिए ।
sfff

– चन्द्रकान्त खनाल