– मुक्तिनाथ भुसाल
स्थानीय तह दोस्रो चरणको चुनावी चहलपहल अर्घाखाँचीमा ह्वात्तै बढेको छ । चुनावी तालमेल नभएमा राप्रपा, नयाँ शक्ति, राजमो, माके, एमाले र नेकाबीच थोरै धेरै प्रतिस्पर्धा हुने देखिन्छ । करिब एक महिना अघिदेखि नेपाली काङ्ग्रेसबाहेकका पार्टीले आ–आफ्ना उम्मेदवार घोषणा गरी घरदैलो अभियान लगभग पूरा गरिसकेका भए पनि काङ्ग्रेसले चाहिँ अझै आफ्ना सबै उम्मेदवार सार्वजनिक गर्न सकेको छैन ।
नयाँ संरचनाअनुसार तीन नगरपालिका र तीन गाउँपालिका रहेको अर्घाखाँचीमा कुल मतदाता सङ्ख्या १ लाख २६ हजार ६ सय ९९ रहेको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत केशवप्रसाद बास्तोलाको भनाइ छ । बास्तोलाका अनुसार जिल्लाका ९३ स्थानमा १६६ मतपेटिका रहने र आवश्यक सबै तयारी पूरा भएको छ । चुनाव नजिकिएसँगै नेता तथा कार्यकर्ता आ–आफ्ना एजेन्डा र प्रचार सामग्रीका साथ चुनाव प्रचारको धपेडीमा परेका देखिएका छन् । पूर्वचुनावी तामझामका कारण मात्र होइन, साङ्गठनिक चुस्तताले पनि जिल्लामा एमाले भारी पर्ने लेखाजोखा हुन थालेको छ । कुनै समय नेपाली काङ्ग्रेसको बाहुल्य मानिने अर्घाखाँचीलाई ‘काङ्ग्रेसमुक्त’ जिल्ला बनाउने दिशामा काङ्ग्रेसकै पूर्वसांसद रेवतीप्रसाद भुसाल र नेतृ पुष्पा भुसालको विशेष भूमिका रहेको अनुभूति काङ्ग्रेसको नयाँ पुस्ताले गर्ने गरेको छ ।
०४६ सालयताको पहिलो र दोस्रो निर्वाचनमा चुनाव जितेर मुलुकको मन्त्रीसमेत बन्ने सौभाग्य पाएका रेवतीप्रसाद भुसाल र ढुण्डीराज शास्त्रीले जिल्लालाई बनाउनेभन्दा पनि आपसमा पानी बाराबार गरी ‘छत्तीसे–चौहत्तरे’ राजनीतिको डिजाइनरका रूपमा समय बिताएका थिए । शास्त्रीजीमार्फत कार्यकर्ताले जेनतेन काम लिन सके पनि भुसालजीसँग काम लिनका लागि ‘चौहत्तरे’को लाइसेन्स प्रमाणित गर्नुपर्दथ्यो । भुसालका क्षेत्रबाट हाल माओवादी केन्द्रका टोपबहादुर रायमाझी संसद्मा प्रतिनिधि रहेका छन् । शास्त्रीजीको क्षेत्रबाट पहिलो संविधानसभामा काग्रेस नेतृ पुष्पा भुसालले विजयी प्राप्त गरे पनि एकैसाथ दोस्रो संविधानसभामा उनले पार्टी र जनताका लागि कर्तव्य निर्वाह गरेकी कारण एमालेका डा. दुमनसिंह थापालाई विजयको प्रमाणपत्र हात लागेको थियो ।
अनौठा स्वभावका रेवती भुसाल आफ्नो बुद्धिमा नचल्ने नेता भएकाले उनको क्षेत्रमा काङ्ग्रेसको किल्ला भत्किएको भन्छन् स्थानीय विश्लेषक । हालको साइन बैंक रहेको घर तत्कालीन गाउँले होटेलमा एउटा कोठा भाडा लिई राजनीति र वकालत पेसा गरेका भुसालसँग ०४३ सालमा पङ्क्तिकारको चिनापर्ची भएको थियो । पञ्चायतकालमा पार्टी प्रचारका लागि उनीसँग धनचौरलगायतका गाविसमा पुग्दाको कठिनाइ तथा अर्घाको चर्चित सर्जिमिन काण्डमा व्यहोर्नुपरेको ढुङ्गामुढाको प्रहार अनि सक्रिय विद्यार्थी राजनीतिका साथै करिब ढेड वर्ष नेपाली जनसम्पर्क समिति हिसार शाखाको उपाध्यक्ष र प्रत्येक निर्वाचनमा काङ्ग्रेसलाई जिताउनुपर्छ भन्दै ज्यानै छाडेर गरेको योगदानलाई उनी पर्यटन राज्यमन्त्री भएकै समय पङ्क्तिकार पूर्णविराम लगाउन विवश बनेको थियो ।

तत्कालीन समयमा कुनै व्यक्तिगत फाइदाको अपेक्षा उनीबाट नभए पनि गुल्मी क्षेत्र नम्बर २ को नेका क्षेत्रीय सभापति भरतबहादुर बस्नेतजस्ता मानव बेचबिखन पेसामा संलग्न व्यक्तिका मतियारलाई कानुनी तरबार तेस्र्याउन मुद्दा उत्कर्षमा पुगेको थियो । तर, तत्कालीन मन्त्री भुसाललाई भिनाजुको संज्ञा दिँदै काङ्ग्रेसी नेता मुक्ति कँडेलबाट ठग बस्नेतलाई संरक्षण नदिइएको भए र भुसालले मुद्दाको यथार्थ अध्ययन गरी उनलाई हच्काएको भए सायद पङ्क्तिकारलाई लामो समयसम्म भारत तथा गल्फमा पुगेर कष्टकर जीवन बिताउनु पर्दैनथ्यो । कँडेल रोहवरमा बसी ठग बस्नेतलाई उन्मुक्ति दिलाउन श्रम विभागमा गरिएको सापटी लेनदेनको रकम करिब दुई दशक पुग्दासमेत हालसम्म प्राप्त हुन सकेको छैन । पङ्क्तिकारजस्ता वाक्कदिक्क बनेका हजारौँ कार्यकर्ताले काङ्ग्रेस पार्टी परित्याग गरेका कारण अर्घाखाँचीमा कम्युनिस्टको भविष्य उज्ज्वल भएको हो ।
पञ्चायतकालदेखि राजनीतिमा होमिएर खासै धनदौलतमा नलागेका विष्णुप्रसाद खनाल ‘मुस्कान’ले हाल जिल्ला सभापतिको पद सम्हालेका भए पनि काङ्ग्रेसलाई पुरानो हैसियतमा फर्काउन सहज छैन । जिल्लामा बसेर काम गरेमा चुनावी टिकट नपाइने काङ्ग्रेसी रोगका कारण जिल्लाको एउटा समूह केन्द्रमै जरा गाडेर बसेको छ । जिल्लामा हुने पार्टीका महत्वपूर्ण कार्यहरूमा उनीहरूको आगमन तथा हैकम चल्ने कारण अर्घाखाँचीमा काङ्ग्रेसको भविष्य दिनप्रतिदिन खतरामा परेको छ । उता सरल स्वभाव तथा जोकोहीसँग मिल्न सक्ने एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य अस्वस्थताका बाबजुद विगत ६ महिनादेखि जिल्लामै रहेका छन् । राजनीतिक ‘मेकानिज्म’ फिट गर्न चतुर आचार्य काङ्ग्रेस र माओवादीका स्थानीय नेता–कार्यकर्तालाई एमालेमा प्रवेश गराएर रातो टीका लगाउन दिनहुँ व्यस्त देखिएका छन् ।
अर्घाखाँची एमालेका कार्यकर्तामा अनुशासन, एकता, कामको मूल्याङ्कन, भाइचाराको सम्बन्ध र सङ्गठन राम्रो छ भने काङ्ग्रेसमा ठीक उल्टो देखिन्छ । एमालेको एउटा कार्यकर्ताले पार्टी परित्याग ग¥यो भने त्यसको समीक्षा गर्दै गल्ती र कमजोरीहरूको खोजी गरिन्छ, तर काङ्ग्रेसमा बाधक व्यक्तित्व पन्छियो भन्दै खुसियाली व्यक्त गर्ने चलन नौलो मानिँदैन । अगामी असार ९ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि एमालेका आफ्ना भोटहरू सुरक्षित रहेका छन् भने काङ्ग्रेसका उम्मेदवारहरूले काङ्ग्रेसकै भोट प्राप्तिका लागि घरदैलोमा पुगेर गिडगिडाउनुपर्ने देखिन्छ । यस परिवेशमा काङ्ग्रेसको बाहुल्य भनेर चिनिने छत्रदेव र पाणिनी गाउँपालिका काङ्ग्रेसको पोल्टामा पर्ने हो वा गुम्ने ? यकिन बताउन सकिँदैन । सन्धिखर्क र शीतगंगा नगरपालिकामा काङ्ग्रेस एवम् एमालेबीच कडा प्रतिस्पर्धा हुनुको साथै भूमिकास्थान नगरपालिकामा राजमो र एमालेबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी मालारानी गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा भए पनि काङ्ग्रेस कसैसँग तालमेल नगरी चुनावमा होमिने हो भने भएका मतहरू सुरक्षित हुनुको साथै भविष्यमा आत्मसमीक्षा गरेर अगाडि बढ्न सहज हुनेछ ।
प्रतिक्रिया