सभापति माओवादीजस्तै बनेपछि निष्ठावान काङ्ग्रेसजनमा असन्तुष्टि

सभापति माओवादीजस्तै बनेपछि निष्ठावान काङ्ग्रेसजनमा असन्तुष्टि


देशका चार महानगरमध्ये राजधानीसहित दुईवटामा विजय हात पारेपछि उत्साही बनेको नेकपा एमाले भरतपुर महानगरमा मतगणना रोकिएपछि छटपटिएको छ । झिनो मतले भए पनि भरतपुरमा समेत आफ्नो विजय हुने विश्वासमा रहेको एमाले आइतबार राति मतगणना हुँदै गर्दा उम्मेदवारको प्रतिनिधिको रूपमा छिरेका वाईसीएलका लडाकुहरूले मतपत्र च्यातिदिएपछि छटपटीमा परेका हुन् । प्राप्त जानकारीअनुसार भरतपुर महानगरको वडा नं. १९ मा माओवादीकी उम्मेदवार रेणु दाहाललाई प्राप्त हुने अपेक्षा गरिएकोभन्दा कम मत आएपछि माओवादी प्रतिनिधिले अचानक मतपत्र च्यातिदिएका थिए ।
उनीहरूले १९ नं. वडामा पुनः मतदान गराउने नियोजित योजनाअनुसार नै मतपत्र च्यातेको विश्वास गरिएको छ । पुनः मतदान भएमा पूरै राज्यशक्तिले ‘साम दाम’ प्रयोग गरी रेणुका पक्षमा मतदान गराउने आशङ्का भएपछि एमाले च्यातिएका मतपत्र सुरक्षित राखेर मतगणना सुचारु गर्नुपर्ने निर्णयमा पुगेको छ । मतगणना सुचारु गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको एक प्रतिनिधिमण्डल लिएर मंगलबार निर्वाचन आयोगमा छलफलका लागि जानुभएको थियो भने भरतपुरमा मतगणना स्थलबाहिर मतगणना सुचारु गर्न माग गर्दै एमालेका स्थानीय नेता तथा कार्यकर्ताले मंगलबारबाटै धर्ना दिएका छन् । पुनः मतदान गर्ने कुरालाई एमालेले कुनै हालतमा स्वीकार नगर्ने भएको छ भने निर्वाचन आयोगले छानबिन समितिको प्रतिवेदन प्राप्त भइसकेपछि मात्र यस विषयमा निर्णय लिने बताएको छ ।

मतपत्र च्यात्न

प्राप्त जानकारीअनुसार माओवादीहरू १९ नं. वडामा एमालेको भन्दा आफ्नो बढी मत आउँछ भन्नेमा विश्वस्त थिए । उक्त वडामा आएको मतले मतान्तर धेरै कम गराउने र २० नं. वडाको मतले रेणुलाई विजयी गराउने आशामा माओवादीहरू थिए । तर, १९ नं. वडामा आएको मतले माओवादीलाई निराश बनाएको र सोही निराशा आक्रोशमा बदलेर गुरिल्ला शैलीमा धावा बोल्दै माओवादी प्रतिनिधिले मतपत्र च्यातेको प्रत्यक्षदर्शीहरूको भनाइ छ । यसरी मतपत्र च्यात्ने मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी नाम भएका दुई गुरिल्लालाई प्रहरीले हिरासतमा लिएको छ । आइतबार मध्यरातिदेखि नै प्रहरीले मतगणना स्थललाई शिल गरेको छ । उक्त स्थानमा प्रहरीले लगाएको ताल्चामाथि एमालेले पनि अर्को ताल्चा थपेको छ ।

यस प्रकरणमा जिल्ला काङ्ग्रेस सभापति जितनारायण श्रेष्ठको भूमिकालाई लिएर काङ्गे्रसकै निष्ठावान नेता तथा कार्यकर्ताले असन्तुष्टि प्रकट गरेका छन् । एमाले र माओवादीबीचको विवादमा कसैको पक्ष नलिएर बस्नु उचित हुने निष्ठावान काङ्गे्रसजनको धारणा छ । सभापति जितनारायण श्रेष्ठले मतपत्र च्यात्नेजस्तो कार्यलाई समेत ढाकछोप गर्ने गरी विज्ञप्ति जारी गर्नुले आफूहरूलाई प्रजातन्त्रवादी पार्टीका कार्यकर्ता दाबी गर्नसमेत लज्जित बनाएको उनीहरूको भनाइ छ ।