
नेपालको बैंकिङ क्षेत्रका ‘नटवरलाल’का रूपमा कहलिएका लक्ष्मीबहादुर श्रेष्ठ (एलबी श्रेष्ठ) आजकाल प्राय सेतो वस्त्रमा देखिन्छन् । सादा जीवन बाँच्दै शान्ति, प्रेम, करुणाको सन्देश बाँड्ने ब्रह्मकुमारी राजयोगको शरणमा गएपछि उनी स्वेत वस्त्रधारी ‘साधु’ देखिन थालेका हुन् । यसरी भेष बदलिए पनि उनको बानी–ब्यहोरा भने पुरानै रहेको ताजा प्रमाण उजागर भएको छ । महिनौँअघि एनसीसी बैंकसँग मर्ज भई ६ महिनाअघि (१७ पुस ०७३) देखि एकीकृत कारोबार गरेको एपेक्स डिभलोपमेन्ट बैंकलाई पुनः अलग्याएर अलपत्र पार्ने उनको हर्कतले एलबीको परपीडक बानी कायम रहेको खुलासा भएको हो ।
प्राप्त जानकारीअनुसार एपेक्स, सुप्रिम र इनटरनेशनल विकास बैंक र एनसीसी बैंक नेपाल राष्ट्रबैंकको अग्रसरतामा मर्जरमा गई एकीकृत कारोबार सुरु गरेका थिए । राष्ट्र बैंकको सूचिमा ‘ब्ल्याक लिस्टेड’ भएका कारण एनसीसी बैंकमाथि हालीमुहाली गर्नबाट एलबी वञ्चित बन्न पुगेका थिए । बैंकिङ कसुरमा यतिबेला जेलमा हुनुपर्ने एलबीको छटपटी यसबीच निकै बढेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । एनसीसीमा राइट सेयर हाल्ने अधिकारबाट वञ्चित उनले त्यहाँबाट एपेक्स बैंकलाई अलग्याउन पाटन उच्च अदालतका न्यायाधीशहरूको समेत सहारा लिएको व्यवसायीहरूबीच चर्चा चलेको छ ।
बताइएअनुसार एपेक्सका विरुद्ध राष्ट्रबैंकलाई समेत विपक्षी बनाएर एलबीले पाटन उच्च अदालतमा मुद्धा दायर गरेका थिए । व्यक्तिगत स्वार्थसिद्धिका लागि जेसुकै गर्न तयार हुने स्वभावका एलबीले उच्च अदालतका न्यायाधीशहरूलाई समेत प्रभावमा पारेको हुनसक्ने सम्बद्ध व्यवसायीको कथन छ । न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र रमेशकुमार खत्रीले गत वैशाख २८ गते सुनाएको फैसलाले यस्तै सङ्केत गरेको राष्ट्रबैंकका एक अधिकारीले बताए । अदालतको निर्णयपछि स्टक एक्सचेन्जले जेठ १६ गते मंगलबारदेखि एनसीसी बैंकको सेयर कारोबारमा रोक लगाएको छ । अर्बौंको पूँजी रहेको बैंकमाथि यसरी गरिएको प्रहारले हजारौँ सर्वसाधारण सेयरधनीहरू मारमा परेका छन् ।
प्रतिक्रिया