
बाजुराको कोल्टीमा आकस्मिक अवतरणका क्रममा यही जेठ १६ गते दुर्घटना भएको नेपाली सेनाको एनए ०४८ स्काइ ट्रक (हवाइजहाज)मा परी दिवंगत हुनुभएका पाइलट महासेनानी स्व. कैलाश गुरुङको शुक्रबार पशुपति आर्यघाटमा उच्च सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अन्तेष्टिका क्रममा सैनिक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।
०४६ साल वैशाख ११ गते अधिकृत क्याडेटका रुपमा सैनिक सेवामा प्रवेश गर्नुभएका महासेनानी स्व. गुरुङले नेपाली सेनाको एक कुशल पाइलटका रुपमा सैनिक हवाई सेवा विस्तार र सैनिक उडानमा विशिष्ट योगदान पु¥याउनुभएको नेपाली सेनाले जनाएको छ । उहाँले मित्रराष्ट्र अमेरिकाबाट CPL (Commercial Pilot License) साथै एभिएसन कै सबै भन्दा ठूलो मानिने Air Transport Pilot License (ATPL) समेत मित्रराष्ट्र अमेरिकाबाटै हासिल गर्नुभएको थियो । स्व. गुरुङले सैनिक हवाई महानिर्देशनालयमा करिव २८ वर्ष सेवा पु¥याउनुभएको थियो ।
एक कर्मठ सैनिक अधिकृतको अलावा उहाँ ख्यातीप्राप्त गीतकार-गायककार तथा समाजसेवी समेत हुनुहुन्थ्यो । बहुप्रतिभाका धनी स्वर्गीय गुरुङले जनप्रशासन र इतिहास विषयमा स्नातकोत्तर गर्नुभएको थियो उहाँका ‘रक्षकको गीत’ (गीतमाला) लेख संग्रह, कावेरी लेख संग्रह, अर्पण (गीति एल्बम), Odes From The Himalayas'(Collection of Songs) कृति र गितीसंग्रहरू प्रकाशित छन् । भोजपूर जिल्लाको छिनामखू गा.वि.स.–४ मा वि.सं. २०२७ साल पुष १४ गते जन्मनुभएका महासेनानी स्वर्गीय गुरुङको एक श्रीमती र दुई छोरीहरु छन् । 
प्रतिक्रिया