
राजस्व निर्धारणमा अनियमितता गरेकोलगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदवारा पक्राउ गरिएका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा यस्तै अभियोगमा पक्राउ पर्ने अन्य कर्मचारीभन्दा फरक स्वभावका देखिए । हिरासत लैजाँदा, अदालतमा प्रस्तुत गरिँदा भ्रष्टाचारका अभियुक्तहरु सकभर आफ्नो अनुहार लुकाउने चेष्टा गर्थे । तिनका चेहराको रंग उडेको देखिन्थ्यो । जतिसुकै लुकाउन खोजे पनि तिनमा ग्लानी र पश्चातापको भाव केही न केही उजागर भएकै हुन्थ्यो । तर, एनसेलको लाभ कर प्रकरणसँग जोडिएर हदै तलको बदनामी कमाएका चुडामणिमा त्यस्तो कुनै लक्षण देखिएन, जुन कर्मका कारण उनमा ग्लानी र पश्चाताप मडारिएको होस् । बयानका लागि विशेष अदालत लगिँदा शर्माको हाउभाउ देख्दा लाग्थ्यो, उनी राष्ट्रको लागि ठूलै योगदान पुर्याएका कुनै नायक हुन् ।
हाउभाउ मात्रै रवाफिलो नभई सञ्चारकर्मीसमक्ष अभिव्यक्ति पनि उत्तिकै उदेकको दिए चुडामणिले । चिटिक्कसँग कोट प्यान्टमा सेलिब्रेटीझैँ सजिएका उनले आफूमाथि अख्तियारले चालेको कदम गैरकानुनी भएको भन्दै अख्तियारलाई नै चुनौती समेत दिए । अर्बौंको भ्रष्टाचारमा जोडिएका चुडामणिको यो रवाफले धेरैलाई आश्चर्यमा पारेको छ । आखिर उनमा यो लज्जाहीनता कसरी किन देखियो ?
गत साता शक्रबार कार्यालयबाटै पक्राउ परी आइतबार विशेष अदालतमा उपस्थित गराइएका शर्माले आफ्नो पक्राउ कानुन र विधिविधानकै अपमान भएको जिकीर गरे । सरकारले कानुनअनुसार आयोग बनाएको र सरकारकै आदेश पालना गरेर आयोगमा बसेको अवस्थामा आयोगको कामकारबाहीलाई छानबिन गर्नु विधिविधानकै अपमान भएको उनको तर्क थियो ।
अनुसन्धानरत विषयमा प्रमाण नष्ट गर्न सक्ने आशंकामा आन्तरिक राजस्व विभागबाटै अख्तियारको फन्दामा परेका चुडामणि गिरफ्तारीपछि निलम्बनमा परेका छन् । छिट्टै नै सचिव हुने रोलक्रममा उनी थिए भने उच्च राजनीतिक तहको इन्ट्रेस्टमा उनी भावी मुख्यसचिवकै रुपमा प्रचारित थिए । सामान्यतया उनको यो प्रगतिमा पूर्णबिराम लागेको ठानिएको छ । तर, अख्तियारले सजाय दिलाउन नभई चोख्याउनका लागि चुडामणिमाथि कारवाहीको नाटक गरेको भन्ने बजारहल्लाले पनि उत्तिकै चलेबाट बेग्लै आशंका पैदा गराएको छ ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुडामणि शर्माको सम्पत्तिमाथि छानबिन अघि बढाएको बुझिन्छ । विशेष अदालतले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो । बताइएअनुसार सेवा प्रवेश गरेदेखि चुडामणिले आर्जन गरेको परिवार तथा आफन्तका नाममा रहेको चलअचल सम्पत्ति विवरण संकलन कार्य भइरहेको छ ।
प्रतिक्रिया