रुपन्देहीका नगरमा मेयरको उम्मेदवार टुङ्ग्यायो काङ्ग्रेसले

रुपन्देहीका नगरमा मेयरको उम्मेदवार टुङ्ग्यायो काङ्ग्रेसले


बुटबलमा पायडे, तिलोत्तमा खाण, सैनामैनामा शर्मा, देवदहमा खत्री र सिनपामा यादव तय

Rupandehi

रुपन्देही । आसन्न स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीका उपमहानगरपालिका तथा नगरपालिकाहरूमा नेपाली काङ्ग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले सोमबार बुटवल उपमहानगरपालिकासहित ६ नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो ।
नेपाली काङ्ग्रेसले बुटवल उपमहानगरपालिकामा नगर समितिका सभापति खेलराज पाण्डेलाई मेयरको उम्मेदवार बनाएको छ । उहाँ विद्यार्थी कालदेखि नै नेपाली काङ्ग्रेसको सक्रिय राजनीति गर्दै आउनुभएको थियो ।

त्यस्तै तिलोत्तमा नगरपालिकामा जिल्ला सचिव रामकृष्ण खाणलाई मेयर बनाएको छ । उहाँ नेपाली काङ्ग्रेसको यसभन्दा अघिल्लो कार्यसमितिमा पनि सचिवमा नै बसेर काम गर्नुभएको थियो । नेपाली काङ्ग्रेसले देवदह नगरपालिकामा क्षेत्र नं. १ का सभापति हिराबहादुर खत्रीलाई मेयरको उम्मेदवार बनाएको छ । युवा उद्यमी खत्री यसभन्दा अगाडी पार्टीको जिल्ला सचिव हुनुहुन्थ्यो । यस्तै, सैनामैना नगरपालिकामा जिल्ला सदस्य फणेन्द्र शर्मालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । उहाँ पूर्व जिल्ला उपसभापतिका रूपमा पार्टीको जिम्मेवारी निभाइसक्नुभएका व्यक्ति हुनुहुन्छ ।

नेपाली काङ्ग्रेसले सिद्धार्थनगर नगरपालिकामा क्षेत्र नं. २ का क्षेत्रीय सभापति मात्रिकाप्रसाद यादवलाई उम्मेदवार बनाएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने नेपाली काङ्ग्रेसले यसअगाडी नै मोहम्मद सइद खाँलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो । खाँ लुम्बिनी सांस्कृतिक नगरपालिकाका पार्टीका नगर सभापतिसमेत हुनुहुन्छ ।

उम्मेदवार टुङ्गिन भन्दा अगाडीदेखि नै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार जिताउनका लागि हरेक स्थानमा प्रचारका कार्यक्रम गर्नुका साथै रणनीतिक योजनासमेत कतिपय स्थानमा बनाइसकेका छन् । तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीसँग नेपाली काङ्ग्रेसले चुनावी तालमेल गरी प्रचारलाई तीव्रता दिएको थियो । सो नगरमा मेयर नेपाली काङ्ग्रेसले लिनेगरी उपमेयर र केही वडा जनमुक्तिलाई बाँडफाँड गरिएको छ । त्यस्तै बुटवलका बिभिन्न वडामा पनि नेपाली काँग्रेस र जनमुक्ति बीच चुनावी तालमेल भएको छ । त्यस बाहेकका स्थानीय तहमा विभिन्न पार्टीसँग चुनावी तालमेलका लागि पहल भइरहेको नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला प्रचारप्रसार समन्वय समितिका संयोजक विश्वेश्वरप्रसाद बस्यालले जानकारी दिनुभयो ।

– चन्द्रकान्त खनाल