किन बल्झियो ‘भरतपुर’को घाउ ?

किन बल्झियो ‘भरतपुर’को घाउ ?


सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्देशनविपरीत भरतपुर महानगरपालिका १९ नं. वडाको चुनाव हाललाई नगराउनू भन्ने अन्तरिम आदेश दिएपछि आयोगको कामप्रति व्यवधान पैदा भएको छ । मत गणनास्थलमा मतपत्र च्यातिएपछि चुलिएको विवादलाई साम्य पार्न अपनाएको आयोगको सूत्र यतिबेला सर्वोच्च अदालतले निष्क्रिय बनाइदियो । स्थानीय निकाय चुनावको एउटा सानो एकाइ भरतपुर महानगरलाई लिएर काङ्ग्रेस र माओवादी केन्द्रका लागि प्रतिष्ठाको लडाइँ बन्दै गएपछि एमाले पनि झन्झन् कडा रूपमा प्रस्तुत हुँदै गएको छ । एमालेले आयोगको निर्णयलाई लिएर संसद् अवरुद्ध ग¥यो भने चितवनलगायत जिल्लामा भरतपुरको मतगणना रोकिएको विरोधमा प्रदर्शन पनि ग¥यो । अहिले यहाँका मतदातादेखि सर्वसाधारणसम्म भरतपुरको मत परिणामभन्दा समस्या कसरी समाधान हुनेछ भन्नेमा अन्योल देखिएका छन् ।

किन अवरुद्ध भयो ?
२ लाख ८० हजार ५ सय ३ जनसङ्ख्या भएको भरतपुरमा १ लाख ५० हजार २ सय ७४ मतदाता रहेका छन् । यीमध्ये १ लाख १२ हजार ७ सय ४१ भोट भरतपुर महानगरमा खसेको थियो । मतगणना निकै सुस्त गतिमा हुँदै आएको भरतपुरमा काङ्ग्रेस–माओवादी केन्द्रको तालमेलबाट मेयरमा उम्मेदवार भएकी रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच तीव्र प्रतिस्पर्धाको अवस्था छ । गणना हुन २ वटा वडा बाँकी रहँदा एमालेका ज्ञवाली रेणुभन्दा मात्र ७३३ मतले अघि थिए । ३ हजारभन्दा बढी भोटले अघि रहेका ज्ञवाली गणनाको अन्तिम अवस्थामा आउँदा मतान्तर निकै कम हुँदै गएको थियो । तर, मतगणनाको सुरुदेखि नै ज्ञवाली रेणुभन्दा अघि थिए । काङ्ग्रेससँगको तालमेलले माओवादी केन्द्रलाई जित्ने भरोसा दिलाएको थियो । रेणु पक्षधरले १९ नं. वडाको मत गन्दा बराबरीमा झर्ने र गन्न बाँकी अर्को २० नं. वडाको मतबाट जित सुनिश्चित हुने विश्वास गरेका थिए । तर, १९ नं. वडामै माओवादी गठबन्धनले सोचेजस्तो मत ल्याउन सकेन । यी दुवै वडा काङ्ग्रेस बाहुल्य क्षेत्र हुन् ।

घटना जेठ १४ गते राति भरतपुरस्थित मतगणनास्थल कभर्डहलको हो । अघिल्लो दिनको बेलुकादेखि भोलिपल्टसम्म मतपरिणाम सार्वजनिक भइसक्ने आसमा सबै दलका कार्यकर्ता गणनास्थलमा पुगेका थिए । खासगरी माओवादी कार्यकर्ताको उपस्थिति बाक्लो थियो । रातको साढे ११ बजेको थियो । गणनामा सबै उम्मेदवार र उनका प्रतिनिधिहरू भित्रै थिए । गणनास्थलमा खासै देखा नपर्ने रेणु दाहाल त्यस दिन भने ९ बजेसम्म बसेर फर्केकी थिइन् । प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने र उनको कर्मचारी समूह गणनामा खटिएको थियो । त्यहीबेला प्रमुख निर्वाचन अधिकृत न्यौपाने शौचालय गए । उनी सौच गएको क्षणभरमै गणनास्थलभित्र होहल्ला सुरु भयो । होहल्लाकै बीचमा माओवादी वाईसीएल जिल्ला इन्चार्ज मधुकर न्यौपाने र सचिवालय सदस्य द्रोणबाबु सिवाकोटीले धमाधम मतपत्र च्यातिदिए । प्रहरीले उनीहरूलाई रोक्न खोज्दाखोज्दै ९० वटा मतपत्र च्यातिएको थियो । यी दुवैजना माओवादी कार्यकर्ता जबर्जस्ती गणनास्थलमा प्रवेश गर्नु र प्रमुख निर्वाचन अधिकृत न्यौपाने शौचालय जानुको संयोग अनौठो बनेको छ । यो १९ नं. वडामा २ हजार ८ सय ९७ मत खसेको थियो । यीमध्ये १ हजार ८ सय ९ मत गनिसक्दा एमालेका मेयर उम्मेदवार ज्ञवालीले रेणुलाई जम्मा ७ सय ३३ भोटले मात्र उछिनेका थिए । माओवादीले भने यो अवधिसम्म एमालेलाई उछिन्ने वा समान भोट हुने आशा गरेको थियो । त्यसपछि काङ्ग्रेस प्रभावित २० नं. वडाबाट रेणुको जित सुनिश्चित हुने अपेक्षा माओवादीले गरेको थियो । तर, अपेक्षाअनुसार मत परिणाम नआएपछि गणनालाई अवरुद्ध पार्न माओवादीको उच्च तहबाटै निर्देशन आएको खुल्न आएको छ । काङ्ग्रेस, एमाले र माओवादीबाहेकका साना दलका प्रतिनिधिले समेत गणनालाई अवरुद्ध पार्न माओवादीले नियोजित ढङ्गले काम गरेको बताउने गरेका छन् ।

काङ्ग्रेस चुक्यो, माओवादी जब्बर
रेणु दाहाल माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री प्रचण्डकी छोरी भएकीले सत्ता सौदाबाजी गरेर प्रचण्डले छोरीलाई जसरी पनि जिताउने अठोट गरेको बुझिन्छ । भरतपुरमा चुनाव जसरी पनि जित्नैपर्ने माओवादीले लक्ष्य लिएर काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता दाउमा राखेको थियो । ३४ जिल्लाका विभिन्न क्षेत्रमा भएको तालमेलभन्दा निकै महत्व दिइएको काङ्ग्रेस–माओवादी केन्द्रको भरतपुर महानगरको तालमेलले राजनीतिमा सौदाबाजीको रूप लिन पुगेको जानकारहरू बताउँछन् । भरतपुरलाई महानगर बनाउँदा काङ्ग्रेसको पकड मानिएको क्षेत्र नं. ४ लाई यसैमा गाभिएको थियो । त्यसै त काङ्ग्रेसको बलियो क्षेत्र भरतपुर त्यसमाथि क्षेत्र नं. ४ मिसाइएपछि काङ्ग्रेसका लागि भरतपुर महानगर निकै सुरक्षित हुन पुगेको थियो । तर, अब तालमेलको यो अल्झाइले काङ्ग्रेसका एकथरी मतदातालाई आफ्नो पार्टीप्रति घोर निराशातर्फ धकेलिदिएको छ ।

काङ्ग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई चुनाव जिताउन देशकै सबैभन्दा सुरक्षित स्थान ठानेर काङ्ग्रेसको चितवन क्षेत्र नं. ४ भरतपुर महानगरमा गाभिएपछि यही पकड क्षेत्रमा देउवाले सत्ताको बाजी लगाएर रेणु दाहाल जिताउन लागेपछि देउवाको साख चितवनमा ह्वात्तै गिरेको छ । काङ्ग्रेस कार्यकर्ताहरूले गठबन्धनको निर्देशनलाई खासै टेरेका थिएनन् । अहिले निर्वाचन आयोगको पुनः मतदान गर्ने निर्णयप्रति अधिकांश काङ्ग्रेस कार्यकर्ता विपक्षमा उभिएका छन् । चितवन जिल्ला काङ्ग्रेस सभापति जितनाराण श्रेष्ठको भूमिका मतगणना अवरुद्ध भएपछिका दिनहरूमा माओवादी कार्यकर्ताकै जस्तो हुन थालेपछि एकथरी सच्चा काङ्ग्रेस कार्यकर्ता जिल्ला नेतृत्वसँग आक्रोशित बनेका छन् । जितनारायण काङ्ग्रेस पार्टीभित्रका जिल्ला कार्यकर्तामा कनिष्ट भएकोले कच्चा निर्णय–क्षमता र पार्टी हितविपरीत कार्यशैली देखिएकोले चितवनमा अहिले काङ्ग्रेस रक्षात्मक हुने अवस्था सिर्जना भएको धेरैले ठानेका छन् ।

सर्वोच्च अदालतको आदेशले तत्कालको तनाव त कम गराएको छ । तर, जेठ २८ गते या त्यसपछि हुने अन्तिम निर्णयले भरतपुर घटना थप बल्झिने या सुल्झिने भन्ने स्पष्ट गर्नेछ । मतपत्र च्यात्ने, पुनः निर्वाचन गराउन चाहने सरकारको नेतृत्व र निर्वाचन आयोगका प्रमुख आयुक्त एउटै दलसम्बद्ध भएकोले यस प्रकरणमा न्यायालयले नियतपक्षलाई समेत सूक्ष्म अध्ययन गरेर अन्तिम निर्णय दिने विश्वास गरिएको छ ।

भरतपुरस्थित मतगणनास्थल