क्यान्सर अस्पतालको बेग्लै कथा

क्यान्सर अस्पतालको बेग्लै कथा


Cancer hospital

चितवनस्थित क्यान्सर अस्पतालमा व्यापक सुधार भएको भनी व्यवस्थापनले डङ्का पिटिरहेको बेला सुधारको दाबी झुटो भएको पाइएको छ । प्राप्त जानकारीअनुसार अस्पतालको ड्युटी आवर आठ घन्टामा जम्मा १५ वटा सिटीस्क्यान गरिनु, तर त्यसबाहेकको चार घन्टामा २५ वटा सिटीस्यान हुनुलाई रहस्यमयी मानिएको छ । सेकाइ गर्ने मेसिन बिग्रिएको भनी कैयन बिरामीले उक्त सेवा नपाएर ज्यान गुमाउनुपरेको यथार्थ हुँदाहुँदै रातारात सेक्ने कामा भएको भनी प्रचार गरिएको छ । जब कि चार महिनादेखि सेकाइ गर्ने मेसिन बिग्रिएको भनी बिरामीलाई सेवा लिनबाट वञ्चित गरिएको थियो । अहिले आठ घन्टाको सेवा अवधिमा ४० जनाको र बाँकी ४ घन्टामा ६० बिरामीको सेकाइ गर्ने गरिएको दाबी अस्पताल व्यवस्थापनको छ । यदि यही तथ्यलाई सही मान्ने हो भने पनि बिरामीमाथि ब्रह्मलुट गरी अमानवीय ढङ्गले अतिरिक्त रकम सङ्ग्रह गर्ने गरेको पुष्टि हुन्छ । यसैबीच नियमावलीविपरीत दुई डिपुटी तथा एकेडेमिक कोअर्डिनेटर नियुक्त गर्ने काम पनि यसै अवधिमा भएको छ । निर्देशक नियुक्तिका विषयलाई लिएर परेको मुद्दामा सर्वाेच्च अदालतबाट तत्काल कुनै कारबाही नगर्न आदेश भएकोमा सञ्चालक समितिको बैठक राखी विभिन्न महत्वपूर्ण निर्णय गरेर अदालतको अवहेलना गर्ने कार्य पनि यतिबेला भरतपुर क्यान्सर अस्पतालमा भइरहेको छ । यसैबीच प्राप्त अर्को एक जानकारीअनुसार राजीनामा दिइसकेका सञ्चालक समिति सदस्य दिनेश कोइरालालाई पनि बैठकमा सहभागी गराउने गरिएको छ । कोइराला मेयरको उम्मेदवार बन्ने भएपछि उनले सञ्चालक समितिबाट राजीनामा दिएका थिए ।