रामचन्द्रद्वारा अस्वीकार !

रामचन्द्रद्वारा अस्वीकार !


ramchandra-paudel

नेपाली काङ्ग्रेसको तर्फबाट टिमको नेतृत्व गर्दै उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा सामेल हुन गरिएको आग्रहलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वीकार गर्नुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुहुने भएपछि काङ्ग्रेसका तर्फबाट टिमको नेतृत्व गर्दै सरकारमा जान नेताहरूबीच प्रतिस्पर्धा चलिरहेका बेला नेता पौडेललाई देउवा पक्षबाट त्यस्तो प्रस्ताव गएको हो । सिनियर काङ्गे्रस नेता गोपालमान श्रेष्ठले रामचन्द्र पौडेललाई टिमको नेतृत्व गर्दै सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको थियो । तर, पौडेलले आफू ‘उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा जान आवश्यक नभएको’ भन्दै ‘यसअघि मौका नपाएको कुनै सिनियर साथीले टिमको नेतृत्व गर्नु उपयुक्त हुन्छ’ भन्ने सुझाव दिनुभएको बुझिएको छ ।

नेपाली काङ्ग्रेसका तर्फबाट सरकारमा सहभागी हुन इच्छुक धेरै नेता भए पनि उपप्रधानमन्त्रीको हैसियतले टिमको नेतृत्व गर्दै सरकारमा जाने मानसिकतामा केही नेताहरू देखिएका हुन् । नेताहरू गोपालमान श्रेष्ठ, डा. रामशरण महत, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्कीलाई सम्भाव्य उपप्रधानमन्त्रीका रूपमा हेरिएको हो । विमलेन्द्र निधि र डा. प्रकाशशरण महतले पनि टिमको नेतृत्व गरी सरकारमा सहभागी हुने इच्छा दर्शाएको बताइन्छ । झन्डै आधा दर्जन नेताहरूबाट उपप्रधानमन्त्री बन्ने इच्छा प्रकट भएकै बेला रामचन्द्र पौडेललाई उक्त जिम्मेवारीका निम्ति प्रस्ताव गएको हो । कृष्णप्रसाद सिटौलालाई उपप्रधानमन्त्री बनाउने कुरामा देउवा क्याम्पका नेताहरूसहित रामचन्द्र पौडेलसमेतको असहमति रहेकोले सिटौलाको बाटो अवरुद्ध हुन पुगेको बुझिन्छ । त्यसैले सिटौलालाई एउटा मन्त्रीको कोटा दिएर थामथुम पारिने सम्भावना छ ।

सिटौलाको कोटामा गगन थापा दोहोरिन्छन् या भीमसेनदास प्रधान पर्छन् भन्ने निश्चित भइसकेको छैन । डा. शशाङ्क कोइरालाले आफैँ उपप्रधानमन्त्री बन्ने इच्छा नदेखाएकोले उनको कोटामा पनि कोही एकजना मन्त्री बन्ने सम्भावना छ । गत वर्ष परराष्ट्रमन्त्रीको रूपमा चर्चामा आएर पनि अन्तिम क्षणमा नाम काटिएका डा. शेखर कोइरालालाई मन्त्री बनाइने सम्भावना भए पनि उहाँलाई उपप्रधानमन्त्रीको हैसियत दिने सोच प्रधानमन्त्री देउवाको नरहेको बुझिन्छ । यसटपक पनि डा. कोइरालालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी मिल्ने सम्भावना कम देखिएको छ । जब कि देउवा स्वयम्ले कोइरालालाई गत वर्ष आफू प्रधानमन्त्री भएपछि परराष्ट्रमन्त्री बनाउने वचन दिनुभएको थियो । यसपटक डा. नारायण खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्राप्त हुने सम्भावना छ । डा. खड्कालाई अर्थमन्त्री बनाउन धेरैले दिएको सुझावलाई देउवाले गम्भीरतापूर्वक लिनुभएको भए पनि एनपी सावदलाई अर्थमन्त्री बनाउन दिएको सुझावलाई समेत उहाँले सकारात्मक रूपमा लिनुभएको बताइन्छ । पूर्णबहादुर खड्काले गत वर्ष नै मन्त्री पद ग्रहण नगर्ने सार्वजनिक घोषणा गर्नुभएको हो । मन्त्रीभन्दा पार्टी महामन्त्रीको जिम्मेवारी सम्हालेर पार्टीकाममा केन्द्रित रहने नेता खड्काको इच्छा भएको बुझिन्छ ।

गत कात्तिकमा नै खड्कालाई महामन्त्री बनाइने विश्वास सभापति देउवाले दिलाउनुभएको हो । उहाँलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने मानसिकतामा देउवा नरहनु भएकोले अन्ततः पार्टी महामन्त्री नै बनाइने झिनो सम्भावना देखिएको छ । डा. रामशरण महतलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिन पनि देउवा तयार नरहनुभएकोले अन्ततः गोपालमान श्रेष्ठ या ज्ञानेन्द्रबहादुर कार्कीमध्ये एकले उक्त हैसियत प्राप्त गर्ने स्थिति बनेको हो । कार्कीले मन्त्रीको जिम्मेवारी पाए पनि उपप्रधानमन्त्रीमा गोपालमान श्रेष्ठ नै उपयुक्त हुने धारणा पार्टीका अधिकांश नेताहरूमा देखिएको छ ।