नक्कली नेपाली नोटको कारोबारमा दलकै कार्यकर्ता

नक्कली नेपाली नोटको कारोबारमा दलकै कार्यकर्ता


Fack Note

रुपन्देही । नक्कली भारुबारे वर्षौंदेखि चर्चा चले पनि नक्कली नेपाली नोट बजारमा आएको कुराचाहिँ आक्कलझुक्कल मात्र सुनिन्छ । नक्कली नोटका कारोबारीहरूले न्युन परिमाणमा नक्कली नेपाली नोट बजारमा पठाउने गरेका सुनिन्छ । तर, व्यवसायकै रूपमा नक्कली नेपाली नोट बजारमा पठाएर अर्थतन्त्र धराशयी तुल्याउन उद्यत् देशघातीहरू पनि पछिल्लो चरणमा देखिन थालेकोमा सुरक्षा निकाय समेत चिन्तित बनेको छ । नक्कली नेपाली नोट छापेर कारोबार गर्ने यस्तै एक युवक बुटवलमा पक्राउ परेका छन् ।

रुपन्देही कञ्चन गाउँपालिका–६ घर भई बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्ने २१ वर्षीय सन्तोष मल्ल नक्कली नेपाली नोट छाप्ने गरेको अभियोगमा पक्राउ परेका हुन् । मल्लले सञ्चालन गर्दै आएको बुटवल–११ नवदिपपथस्थित अर्फन हेल्पिङ हेन्ड नामक कार्यालय तथा निजको डेरा खानतलासी लिने क्रममा नक्कली नोट र नोट छाप्ने मेसिन बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासीनिले बताए ।

मल्लको डेरामा खानतलासी गर्दा नक्कली नोट तयारी गर्ने फ्रि इन्क प्रिन्टर मेसिन, ल्यापटप र नक्कली नोटलगायतका सामान बरामद गरिएको थियो । बुटवल मिलनचोकमा रहेको प्रभु बैंकमा नियमित रुपमा नक्कली नोट जम्मा गरेको सूचनाका आधारमा मंगलबार राति ती युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट प्रहरीले एक हजार दरको नोट ३ सय ४९ र ५ सय दरको नोट १ सय ५ थान प्रहरीले बरामद गरेको छ । बरामद नगदमध्ये १ लाख १५ हजार प्रभु बैंकमा जम्मा भएको थियो ।

पहिलो पटक एक लाखको बिटोमा एक हजार, दोस्रो पटकमा १४ हजार रुपैयाँ उनले बैंकमा जम्मा गरेका थिए । बैंकका कर्मचारीले दुई पटक नक्कली नोट जम्मा गर्दा समेत पत्तो नपाएपछि उनले १ लाख नै बैंक काउण्टर पु¥याएको अनुसन्धानबाट खुलेको छ । मल्लले आफ्नो खाताबाट पैसा निकाल्ने र बैंकलाई चाहिँ आफ्नो गोजिमा रहेको नक्कली नोट दिने गरेका थिए । बयानका क्रममा छिट्टै करोडपति बन्ने लालसाले आफूले यस्तो अवैध काम गरेको मल्लले बताएको स्रोतको भनाई छ ।

नक्कली नोट अपचलन गरेको अभियोग प्रमाणित भए मुलुकी ऐन २०२० खोटाचलनको महलको ४ नम्बर विगोबमोजिमको जरिवाना तथा दश वर्ष कैदको व्यवस्था रहेको छ । मल्लले बुटवलका केही व्यक्तिहरुसँग पैसा असुल्दै उनीहरूको प्रोफाइलसहितको पुस्तक समेत निकालेका थिए । उनी एमाले कार्यकर्ता रहेको पनि खुलेको छ ।
– चन्द्रकान्त खनाल