शोभराजको मुटुको शल्यक्रिया हुने

शोभराजको मुटुको शल्यक्रिया हुने


shovraj

सिरियल किलर, बिकनी किलर नामले समेत चिनिएका कुख्यात अपराधी चाल्र्स शोभराजलाई शुक्रबार शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको छ । केन्द्रीय कारागारमा बन्दी तुल्याएका उनी गत साता अचानक बेहोस भएका थिए । शोभराजमा मुटुसम्बन्धी समस्या रहेको बुझिएको छ । आगामी शनिबार उनको मुटुको शल्यक्रिया गरिने तयारी अस्पतालले गरिरहेको समेत जानकारी मिलेको छ । शोभराजको उपचार खर्च नेपाल सरकारले नै ब्यहोर्ने एक सरकारी अधिकारीले बताए ।

२०३२ पुष ६ मा क्यानेडियन नागरिक लरेन्ट अर्माण्ड क्यारिरेको हत्या गरी लाशलाई टुक्रा पारेर भक्तपुरको मनोहरा खोलामा फ्याँकिएको अवस्थामा भेटिएको थियो । यो हत्या शोभराजले गरेको खुलासा भएको थियो । यस्तै प्रकृतिका कैयन हत्या शोभराजबाट भएको थियो । पछि शोभराज विरुद्ध भक्तपुर चित्तपोलका तत्कालीन गाउँ पञ्च गोकर्णबहादुर कार्कीले डिसेम्बर १९७५ मा मुद्धा दायर गरेका थिए । ०३२ पुष ८ मा पेब्सीकोलामा भएको कोनी जो ब्रोनिजको हत्या अभियोगको सुनुवाइ क्रममा लरेन्ट नामक अर्का पात्रको हत्यामा समेत शोभराजको संलग्नता रहेको तथ्यहरु अदातलतमा पेस भएपछि उनीविरुद्ध भक्तपुर जिल्ला अदालतबाट मुद्धा चलाइएको थियो । सर्वोच्च अदालतले कर्तव्य ज्यान र जाली राहदानी मुद्दाको फैसलामा जन्मकैद सुनाएपछि उनी ०६० सालदेखि कैद भुक्तान गर्दै आएका छन् । अनेक बहाना गरेर कैद मुक्त हुने शोभराजको प्रयास यसबीच तुहिँदै आएको छ । भारतमा समेत २१ वर्ष जेलमा गुजारेका ७३ वर्षीय शोभराज मानिसलाई मोहजालमा पारेर ठग्न र हत्या गर्न विश्वमै कहलिएका पात्र हुन् ।