बुटवल उमनपा पाँचौँपटक पनि देशकै सर्वोत्कृष्ट

बुटवल उमनपा पाँचौँपटक पनि देशकै सर्वोत्कृष्ट


देशभरका सबै नगरहरुलाई पछाडि पार्दै बुटवल उपमहानगरपालिका लगातार पाँचौँ पटक पनि देशकै सर्बोत्कृष्ट नगर घोषणा भएको छ । संघीय तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत वित्तिय आयोगले गरेको मुल्यांकनका आधारमा देशभरका सबै नगर, उप तथा महानगरपालिकामध्ये बुटवल उत्कृष्ट बनेको हो ।

०६९ साल यता बुटवल लगातार सर्वोत्कृष्ट हुँदै आएको छ । अघिल्लो वर्ष बुटवल र धनकुटाले बराबर ९१ अंक ल्याएर प्रथम भएका थिए । आयोगले नगरपालिकाहरुले पालना गर्नुपर्ने न्युनतम शर्त मापनका १० र कार्य सम्पादनका ४० सुचक गरी गरी दुवैमा ५०–५० अंक मापन गरेर मुल्यांकन गरेको थियो ।

प्रथम भएलगत्तै नगरपालिकामा आउने अनुदानमा वृद्धि हुने प्रावधान छ । सुशासन, कार्यविधि, समूदाय परिचालन, योजना कार्यान्वय लगायतका मूल्यांकनको कुल एक सय अंकमा नगरपालिकाले उक्त अंक प्राप्त गरेको हो । उपमहानगरपालिकाले प्रत्येक टोलमा टोल विकास समिति गठन गरेर उनीहरूमार्फत टोलको विकास, निकास र सरसफाइमा उदाहरणीय काम गरेको छ ।

बुटवलमा स्थानीय शाशन तथा सामुदायिक विकास कार्यक्रम अर्को उपलब्धिमुलक कार्यक्रम हो । उपभोक्तासँगको साझेदारीमा नगरभित्रको टोल–टोलमा सडक विस्तार तथा निर्माण, ढल निकास, फोहोर व्यवस्थापनलगायतका पूर्वाधार विकासका कामहरु पनि भएका छन् । बुटवललाई अँध्यारोरहित बनाउन सौर्य सडक बत्ती विस्तार, कृषिउपज तथा थोक बजार केन्द्र संचालन, देशकै नमूना अटो भिलेज सञ्चालन लगायतका महत्वकांक्षी योजनाहरु पनि सञ्चालनमा छन् ।

लगातार देशकै सर्वोत्कृष्ट भए पनि बुटवललाई महानगर बनाउन भने पहल भएको छैन । केही दिनअघि सरकारले बीरगञ्ज र विराटनगरलाई महानगर बनायो तर बुटवल त्यसमा परेन । अरु कमजोर र पूर्वाधार नभएका नगरहरूलाई महानगर बनाइँदा बुटवललाई उपेक्षा गरिएको बुटवलबासीको ठहर छ ।
– चन्द्रकान्त खनाल