गाउँगाउँमा सिंहदरबार

गाउँगाउँमा सिंहदरबार


■ त्रिभुवनचन्द्र वाग्ले

ऊ, गाउँको मान्छे
नाक छोपेर हिँड्छ
माक्स लगाएर बोल्छ
धुलो छैन, धुवाँ छैन
र पनि नाकमुख छोपेर हिँड्छ ऊ

मैले सोध्न पाइनँ
उसले भन्न चाहेन
ऊ, लाजले नाक छोप्दो हो
ग्लानिले मुख ढाक्दो हो
ऊ सायद सिंहदरबार सुघ्न चाहन्न
र, नाक छोपेर हिँड्छ,
ऊ, सायद सिंहदरबारविरुद्ध बोल्न चाहन्न
र, मुख थुनेर हिँड्छ,
किनभने अब गाउँगाउँमा सिंहदरबार पुग्दै छ

सिंहदरबार ः मान्छेको सुक्रीबिक्री गर्छ,
जोडघटाउ गर्छ
मनको विनिमय गर्छ
मतको नाफा–नोक्सान हेर्छ
मानिएकाहरूको मोलमोलाइ गर्छ ।
सिंहदरबार : विश्वास–अविश्वासको त्रिपासा खेल्छ
सिंहदरबार : कुर्चीका लागि, कुर्ची फोरिन्छ
सिंहदरबार : सत्ताका लागि कुर्ची जोडिन्छ
गाउँले ऊ, इज्जतको भोकमा माक्सले नाक छोप्छ
किनभने, अब त गाउँगाउँमा सिंहदरबार गनाउने भय छ ।
सिंहदरबार : तेलमा पाम आयल मिसाउँछ
सिंहदरबार : अँधेरामा रातका निर्णय सुनाउँछ
सिंहदरबार : बुद्ध र युद्धको समायोजन खोज्छ
सिंहदरबार : सक्षम र असक्षमको व्यूह रच्छ
गाउँले ऊ, आक्रोशको झोकमा माक्सले मुख थुन्छ
किनभने, अब त गाउँमा सिंहदरबार डुक्रने भय छ ।

सिंहदरबार : अग्लो पर्खालभित्रबाट आदेश गर्छ
सिंहदरबार : आडम्बर उक्लन्छ, प्रतिशोधमा ओर्लन्छ
सिंहदरबार : रामशाह पथ ताक्छ
सिंहदरबार : नक्साल ताक्छ
बाबै, अब त गाउँगाउँमा बहुमतको खिचडी पाक्छ

सिंहदरबार : वन र बन्दुकको स्वस्थानी पढ्छ
सिंहदरबार : धन र सन्दुकको शुभलाभ छर्छ
सिंहदरबार : चौरमा बस्छ र चेयरमा चर्छ
सिंहदरबार : पजेरो र प्राडोमा ¥याल काट्छ ।
गाउँले ऊ, पद चर्न जान्दैन
सन्दुक भर्न जान्दैन
र पो त मुख थुनेर हिँड्छ
नाक छोपेर हिँड्छ
तर, अब त गाउँमा सिंहदरबार पुग्दै छ
पुग्दा सिंहदरबार गाउँगाउँमा
कलिकति काठमाडौं पनि लिएर पुग्दै छ ।

अलिकति अभाव, छुचोछुचो स्वभाव
अलिकति अपेक्षा, अलिकति आक्रोश
ए, यो पो हो काठमाडांै,
अब त गाउँगाउँमा काठमाडौं पुग्दै छ
मैले सोध्न पाइनँ
उसले भन्न चाहेन
ऊ, लाजले नाक छोप्दो हो
ग्लानिले मुख ढाक्दो हो
ऊ सायद सिंहदरबार सँुघ्न चाहन्न
र, नाक छोपेर हिँड्छ,
ऊ, सायद सिंहदरबारविरुद्ध बोल्न चाहन्न
र, मुख थुनेर हिँड्छ,
किनभने अब गाउँगाउँमा सिंहदरबार पुग्दै छ ।