को–को हुँदै छन् मन्त्री ?

को–को हुँदै छन् मन्त्री ?


आन्तरिक सहमति बन्न नसकेका कारण मन्त्रिमण्डल विस्तारमा विलम्ब भएको छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले रामचन्द्र पौडेल पक्षलाई चार, महामन्त्री डा. सशांक कोइरालालाई एक, कृष्णप्रसाद सिटौलालाई एक र खुमबहादुर खड्कालाई एक मन्त्री दिएर आन्तरिक शक्ति सन्तुलन मिलाउन खोजेको बताइन्छ । पौडेल पक्षले प्रधानमन्त्री देउवासँग आफूलाई प्राप्त हुने मन्त्रालयबारे स्पष्ट हुन चाहेकोले पनि आन्तरिक छलफल लम्बिएको बुझिएको छ । पौडेल पक्षले बलबहादुर केसी, रामकृष्ण यादव र सरिता प्रसाईंलगायतको नाम तय गरेको जानकारीमा आएको छ । कृष्ण सिटौलाले भीमसेनदास प्रधानको नाम अघि सारेका छन । डा. सशांक कोइराला र नेता खुमबहादुर खड्काका तर्फबाट कसलाई प्रस्ताव गरिने हो सो टुङ्गिएको छैन । प्रधानमन्त्री देउवाले एनपी सावद, मीनबहादुर विश्वकर्मा, भरतबहादुर शाह र मोहन बस्नेतलाई मन्त्रिमण्डलमा समावेश गर्ने सम्भावना रहेको छ । त्यसैगरी माओवादीका तर्फबाट गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, टेकबहादुर बस्नेत, अग्नि सापकोटा र महेन्द्र शाही मन्त्रिमण्डलमा पर्न सक्ने सम्भावना भएको बुझिएको छ । मंगलबार (जेठ ३० गते) राष्ट्रपति विद्या भण्डारी स्वीट्जरल्यान्ड भ्रमणमा जानुभएकोले उहाँ फर्किएपछि मन्त्रिमण्डल विस्तारको घोषणा हुने भएको छ ।