नेपाली उत्पादन युरोपमा आयात एवम् वितरण सम्भाव्यताबारे विचार गोष्ठी

नेपाली उत्पादन युरोपमा आयात एवम् वितरण सम्भाव्यताबारे विचार गोष्ठी


– डिल्लीराम अम्माई

लुभेन । नेपाली उत्पादनको प्रोत्साहन गर्ने ध्येयले नेपालबाट आयात गरी बजारमा बिक्री वितरण गर्न सकिने सामानको सम्भाव्यता अध्ययनका लागि नेपाली ब्यावसायी संघ बेल्जियमको अगुवाईमा एक विचारगोष्ठी सम्पन्न भएको छ ।

बेल्जियमको लुभेन शहरस्थित अन्नपूर्ण रेस्टुरेन्टमा नेपाली दुतावास बेनेलक्सका राजदुत लोकबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न विचार गोष्ठी नेपाली ब्यबसायी संघ बेल्जियमको आयोजनामा भएको थियो । कार्यक्रमको सञ्चालन गर्दै आयोजक संगठनका महासचिव यामु निरौलाले ‘आफ्नो देशको उत्पादनको लागि कसरी विश्वब्यापी बजार ब्यवस्थापन र वितरण गर्न सकिन्छ, त्यसको लागि के–कसरी सकारात्मक भूमिका खेल्न सक्छौँ, बहस चलाउन आवश्यक भएको तर्कसहित वैकल्पिक बजार सम्भाव्यताको लागि ब्यबसायी गम्भीर हुने कि नहुने भनेर प्रतिप्रश्न गर्दै कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकतालाई इङ्गित गर्दै नेपालबाट उत्पादित चिया कम्पनी कञ्चनजङ्घा टि स्टेटकी बजार ब्याबस्थापक समीक्षा बाँस्कोटाले अमेरिका, युरोपलगायत विभिन्न देश–महादेशहरूमा नेपाली चियाको पैठारी गर्नेबारे आफ्ना अनुभवसहित सम्भाब्यताहरू बारे प्रस्ट्याएकी थिइन् । महिलालाई रोजगारी दिएर तिनका जीवनस्तर उकास्ने कार्यलाई प्रमुख मुद्धा बनाएको बाँस्कोटा ग्रुपको चियाको प्रचारप्रसार र सम्भाब्य अन्तर्राष्ट्रिय बजारको खोजी गर्दै उनी युरोपका केही ब्यापारिक प्रदर्शनीहरूमा भाग लिएर बेल्जियम आइपुगेकी हुन् । बेल्जियममा रहेका नेपाली पर्यटनदूतद्वय रविन्द्रमान श्रेष्ठ र शिव बरुवालले ‘नेपालमा उत्पादित सामानको युरोपमा निकासी गर्दा झेलेका चुनौती र गुणस्तरियताको मापनमा आउने गरेका गुनासाहरू’ बारे आफ्ना धारणा राखेका थिए ।

त्यस्तै च्याम्बर अफ कमर्शका प्रतिनिधि रोजर ग्रोन, एनआरएन महिला उपसंयोजक तथा ब्यवशायी रजनी प्रधानले पनि युरोपको बजारमा नेपाली उत्पादन ल्याउँदा झेल्नुपरेका समस्या र सम्भावित अवसरको बारेमा मन्तब्य दिएका थिए ।

विशेष वक्ता राजदुत लोकबहादुर थापाले नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजारमा पहुँचको लागि दुतावास सदैव ब्यवसायीहरूको साथमा रहेको जनाउँदै अन्य देशबाट नेपाल समान निकासी गर्नुभन्दा त्यो समान उत्पादन गर्ने टेक्नोलोजी नै नेपाल लैजानु श्रेस्कर हुने मत जाहेर गर्दै त्यसले स्थानीय कच्चा पदार्थ खपत गर्दै रोजगारिको समेत सिर्जना गर्ने कुरामा जोड दिए ।

ब्यवसायी संघका अध्यक्ष सिपी भट्टले सभापतिको आसनबाट बाँस्कोटा ग्रुपकी बजार ब्यावस्थापक समीक्षा बाँस्कोटालाई बेल्जियममा स्वागत गर्दै नेपाली उत्पादन आफ्नो हरेक ब्यवसायमा समावेस गर्ने र अन्य ब्यवसायीहरूलाई समेत नेपाली उत्पादन बिक्री वितरणको लागि प्रोत्साहन गर्ने बताए । उनले बाँस्कोटा कम्पनीको चिया पनि अन्तर्राष्ट्रिय स्तरको रहेकोले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने र आफुले युरोपियन बजारमा पहुँचको लागि विशेष पहल गर्ने बताए ।

अध्यक्ष भट्टले स्वादिष्ट नेपाली परिकारको खाना ख्वाएर सम्पूर्ण उपस्थित व्यवसायी अतिथिहरूको आत्मिय सत्कारको लागि अन्नपूर्ण रेस्टुरेन्ट परिवारका साथै सोही संगठनका उपाध्यक्ष गंगा शर्माप्रति विशेष आभार प्रकट गरेका थिए । आगन्तुक तथा सहभागीहरूलाई धन्यवाद दिँदै नेपाली व्यवसायीका हरेक अभियानलाई साथ दिन आग्रह गरेका थिए ।

कार्यक्रममा एनआरएनएका पुर्वअध्यक्ष तथा विधान मस्यौदा समिति आइसिसिका उपसंयोजक युवराज गुरुङ, एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतम, खेलकुद समिति बेल्जियमका अध्यक्ष किसन केसी, पत्रकार महासंघ युरोपका उपाध्यक्ष ओम शर्मालगायत विशेष ब्यक्तित्वहरूको पनि उपस्थितिे थियो ।

स्मरणरहोस्, नेपाली व्यवसायी संघ युरोपमा स्थापित संघमध्ये व्यवसायीहरूबीच अत्यान्त लोकप्रिय संगठन हो । यसले ब्यापार गर्न इच्छुकहरूलाई तालिम, कानुनी परामर्श दिनुका साथै परोपकारी काममा समेत आफ्नो बलियो उपस्थिति देखाइसकेको छ । यो बेल्जियमस्थित नेपाली समाजको मेरुदण्ड हो भने बेल्जियम सरकारलाई पनि यसका सदस्यहरूले मासिक नेपाली सत्र करोडको हाराहारिमा कर योगदान दिएको अनुमान गरिएको छ । हाल बेल्जियमका व्यवसायीहरूले शुरु गरेको सहकारी ब्यवसायको विशाल अभियानले सुरुको चरणबाट दोश्रो चरणमा प्रवेश गरिसकेको छ । यो सहकारी सफल भएमा बेल्जियमस्थित नेपालीको दोश्रो पुस्ताको लागि व्यवसायिक उत्प्रेरणा बन्नेमा दुइमत देखिँदैन ।