नगर समुन्नत तुल्याउन काङ्ग्रेस उम्मेदवार प्रतिबद्ध

नगर समुन्नत तुल्याउन काङ्ग्रेस उम्मेदवार प्रतिबद्ध


नेपाली काङ्ग्रेस सिद्धार्थनगर नगरपालिका रूपन्देहीका मेयर तथा उपमेयरका उम्मेदवारहरूले भैरहवालाई विकसित र समुन्नत नगर बनाउने उद्घोष गरेका छन् । मेयरका उम्मेदवार मातृकाप्रसाद यादवले नगरको बृहत् विकास र सुन्दरताका लागि अल्पकालीन तथा दीर्घकालीन योजनाहरूमार्फत भैरहवाको विकास गरिने बताए । यसका लागि परम्परागत र जनता झुक्याउने कामले नगरको स्तरोन्नति सम्भव नरहेको प्रस्ट्याउँदै उनले सुरुमा नगर प्रशासनबाट सरल, सहज र पादर्शी सुशासनको प्रत्याभूति नगरवासीले पाउनुपर्ने उल्लेख गरे ।

सरल, सहज र पारदर्शी सुशासनको प्रत्याभूति गराउन सुरुमा सेवाग्राहीमैत्री प्रशासनको व्यवस्था मिलाएर अघि बढ्ने योजना उनले बुनेका छन् । नगरको विकासमा नीतिगत र गुरुयोजनामार्फत दिगो विकासमा जोड दिएका उनले टिकाउ, दिगो र गुणस्तरीय विकास निर्माणमा कटिबद्धताका साथ लागेर स्वच्छ, सफा, हराभरा, प्रदूषणरहित सुन्दर नगर निर्माणमा खटिने बताए । स्थानीय जनसहभागिता र पारदर्शिताजस्ता सुशासनका आधारभूत पक्षको समेत सुनिश्चितता नभएका कारण लामो इतिहास बोकेको सिद्धार्थनगरपालिकाको चाहेअनुरूप विकास हुन नसकेको भन्दै उनले नगरका सीमान्तकृत समुदायबीच सन्तुलित विकासको प्रतिफल प्राप्ति र परिवर्तनको आकाङ्क्षाको सम्बोधन आफूले गर्न सक्ने उनको कथन छ । त्यस्तै, भैरहवामा रहेको विद्युत् समस्यालाई समाधान गर्न सञ्चालित १३२ केभीए प्रसारण लाइन विस्तारमा देखिएका जटिलता समाधान गरी भैरहवालाई उज्यालो सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तारकोे काम छिटो सम्पन्न गराउनसमेत पहल गर्ने बताए ।

नेपाली काङ्ग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार रहेकी माधवी शर्मा वाग्लेले बालबालिका, वृद्ध, महिला, अपाङ्ग, अशक्त तथा अल्पसङ्ख्यक पिछडा वर्गका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको बताइन् । भाषा, साहित्य, कला, धर्म–संस्कृतिको संरक्षण, शिक्षा, स्वास्थ्य तथा खेलकुदको विकास स्थानीयको चाहानाअनुरूप स्थानीयकै सहभागितामा सञ्चालन गर्ने योजना रहेको उनले सुनाइन् । नेपाली काङ्ग्रेस सिद्धार्थनगर नगरपालिका वडा नं. १ का अध्यक्षका उम्मेदवार रमेश मल्ल, २ का जगजीवन पाठक, ३ का चन्द्रवली यादव, ४ का नरेन्द्र रौनियार, ५ का पुरनप्रसाद श्रेष्ठ, ६ का धीरेन्द्र श्रीवास्तव, ७ का भीमसेन कर्मचार्य, ८ का राजनजंग राणा, ९ का श्याम खनाल, १० का विजयनाथ धवल, ११ का राजेश्वर यादव, १२ का करुणजंग श्रेष्ठ र १३ का सोमबहादुर गुरुङ (सेते) लगायतले पनि आ–आफ्नो वडामा विकासको नयाँ अनुभूति दिलाउने प्रतिबद्धता जनाए ।

तिलोत्तमामा खाणलाई अघि सारियो

नेपाली काङ्ग्रेसले रूपन्देहीका नगरपालिकाहरूमा आफ्ना उम्मेदवार तोकेसँगै चुनावी लहर उर्लेको छ । काङ्ग्रेस तिलोत्तमाको मेयर पदमा जिल्लासचिव रामकृष्ण खाण तोकिएपछि तिलोत्तमाको चुनावी माहोल थप तातेको अनुभूति गरिएको छ । नगरका १७ वटै वडामा विभिन्न प्रचारात्मक कार्यक्रम चलेका छन् । काङ्ग्रेसले आफ्नो विजय सुनिश्चित गर्न तिलोत्तमामा राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गरेको छ । यी दुई दलले चुनावी अभियान पनि संयुक्त रूपमै अघि बढाएका छन् । नगरको मेयर उम्मेदवार रामकृष्ण खाण र उपमेयरका उम्मेदवार गीता सारुले नगर र नगरवासीको अधिकार सुनिश्चित गर्दै विकासमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता जनाएका छन् । उनीहरूले फोहोररहित नगर बनाउने प्रण गर्दै मेयर उम्मेदवार खाणले फोहोरलाई मोहरमा परिणत गर्ने विशेष कार्यक्रम ल्याइने, नगरका सबै वडामा स्वच्छ पिउने पानी, फोहोर प्रशोधन केन्द्र, मापदण्डअनुरूपका गुणस्तरीय सडक र पुलपुलेसा निर्माणलाई पहिलो प्राथमिकता दिइने जनाएका छन् ।

– चन्द्रकान्त खनाल