
– रेजिना गौतम (झापा)
प्रदेश नं. १, २, ४ र ७ मा स्थानीय तह निर्वाचनको मिति नजिकिएको छ । असार १४ का लागि तोकिएको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार मनोनयनको दिन नजिकिँदै गएसँगै राजनीतिक दलहरूले आफ्नो चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन् । जनमत आफ्नो पक्षमा पारेर स्थानीय तहको साँचो हातमा लिन लालायित दलहरूबीच चुनावी प्रचारमा तीव्र प्रतिस्पर्धा देखिन्छ । लगभग २० वर्षपछि हुन लागेको स्थानीय तहका जनप्रतिनिधि छान्ने निर्वाचनमा उम्मेदवार बनेकाहरूले चाहिँ पूर्वाञ्चलकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरका चुनौती के–के देखेका छन् ? अनि आफ्नो नेतृत्व आए आफूले नेतृत्व गरेको नगरलाई कस्तो बनाउने योजना बनाएका छन् त ? नेपाली काङ्ग्रेसबाट बिर्तामोड नगरपालिकाको मेयरमा जलकुमार गुरुङ, नेकपा एमालेबाट ध्रुव सिवाकोटी, नेकपा माओवादी केन्द्रबाट सीपी कडरिया, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्ति सिटौलाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । साथै साना दलहरूले पनि मेयरमा उम्मेदवारी दिने जनाउँदै आए पनि उम्मेदवारी घोषणा गरिसकेका छैनन् । उम्मेदवारी ज–जसको आए पनि मुख्य रूपमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
जलकुमार गुरुङ (नेपाली काङ्ग्रेस) :
नेपाली काङ्ग्रेसबाट मेयरका टिकट पाएका जलकुमार गुरुङ सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील छन् । फुटबल खेलका प्रेमी गुरुङ नेतृत्वको झापा–११ फुटबल क्लबले छोटो समयमा नै देश तथा विदेशसम्म पहिचान स्थापित गर्न सफल भएको छ । १८ वर्ष ब्रिटिस आर्मीमा इन्जिनियरको जिम्मेवारी सम्हालेका गुरुङ बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हुन् । अन्य विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध गुरुङ विकासप्रेमी व्यक्तिका रूपमा चिनिन्छन् ।
बिर्तामोड नगरपालिकामा मेयरका आकाङ्क्षी गुरुङका नजरमा बिर्तामोडका मुख्य चुनौती के–के छन् त ?
– अनियन्त्रित बसोवासको उचित व्यवस्थापन गर्नु
– नगरमा उत्पादित फोहोर मैलाको दिगो व्यवस्थापन
– नगरक्षेत्रमा बाटो, बिजुली, खानेपानीको उचित व्यवस्थापन
– ढल निकास तथा मानवीय अतिक्रमणमा परेका प्राकृतिक सम्पदाको अस्तित्व पुरानै धारमा फर्काउनु
– ट्राफिक तथा सवारीसाधन पार्किङको उचित व्यवस्थापन
– कृषिजन्य उत्पादनको बजारीकरण
– शिक्षा, स्वास्थ्य र रोजगारी
– सेवा सुविधा लिन्न
योजना :
आफू मेयर पदमा निर्वाचित भएमा सेवा, सुविधा नलिने उद्घोष गरेका गुरुङले मुख्य चुनौतीका रूपमा देखिएका समस्याको समाधानका लागि गुरुयोजना बनाएर अघि बढ्ने बताएका छन् । गुरुङले नगरक्षेत्रमा सम्भावनायुक्त उद्योगको स्थापना गरी रोजगारीको सिर्जना गर्ने र युवा पलायन हुने कार्यमा न्यूनीकरण गर्दै जाने, नगर क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रलाई नमूनाका रूपमा विकास गर्ने, अव्यवस्थित बसोबासलाई सामाजिक मापदण्डअनुसार बसोबासको व्यवस्था मिलाउने, नगर क्षेत्रभित्र रहेका विभिन्न धार्मिकस्थलमध्ये कुनै एकलाई शक्तिपीठका रूपमा विकास गर्ने, साविक गरामनीस्थित भुटानी शरणार्थी शिविर गोलधाप क्षेत्रमा युवा तथा बालबालिकालक्षित देशकै नमुना मनोरञ्जनात्मक पार्क निर्माण गर्ने, अव्यवस्थित मठमन्दिर तथा नगरक्षेत्रमा बासोबास गर्ने धर्मसम्प्रदायका आस्थाका भौतिक धरोहरहरू व्यवस्थित गर्ने, वैकल्पिक मार्गका रूपमा रिङरोड, सुविधासम्पन्न रंगशाला निर्माणलगायतका योजना अघि सारेका छन् । पाँचथरको रानीटारमा जन्मिएका गुरुङले २२ वटाभन्दा बढी देशको भ्रमण गरी त्यहाँ गरेका अध्ययनलाई बिर्तामोडको विकासमा लगाउन चाहेको बताएका छन् ।
ध्रुव शिवाकोटी (नेकपा एमाले) :
यसअघि नै तत्कालीन अनारमनी गाउँ विकास समितिको नेतृत्व गरिसकेका ध्रुव शिवाकोटी नेकपा एमालेबाट बिर्तामोड नगरको मेयरको प्रतिस्पर्धामा छन् । गाविसको नेतृत्व गर्दा जनताका बीच राम्रै छवि बनाएका शिवाकोटी बिर्तामोडका दर्जनभन्दा बढी सङ्घसंस्थामा आबद्ध छन् । राजनीतिका साथै व्यवसायमा पनि संलग्न शिवाकोटी बिर्तामोड नगरको मेयर पदको उम्मेदवार बनिरहँदा बिर्तामोडका चुनौती के–के छन् ? अनि भावी योजना के छन् त ?
१) बाटो, ढल र तटबन्ध
२) स्वास्थ्य, शिक्षा र सुरक्षा
३) प्रदूषण र विषादी नियन्त्रण
४) सुकुम्बासी समस्या समाधान
५) नदी नियन्त्रण
६) बेरोजगारी समस्या समाधान
नगरमा शान्तिपूर्वक पेसा, व्यवसाय सञ्चालन गर्न सुरक्षाको प्रत्याभूति दिलाउने, नगर क्षेत्रका कच्ची बाटो व्यवस्थित गर्ने, नगरका सबै वडामा स्वास्थ्यको सहज पहुँच पु¥याउने, व्यावसायिक शिक्षामा जोड दिने, अन्धुवा खोला नदी नियन्त्रण, ढल निकास र तटबन्ध निर्माण गर्ने, विषादी नियन्त्रण, उद्योग स्थापना गरी बेरोजगारी समस्या समाधानलगायतका योजना शिवाकोटीले अघि सारेका छन् ।
सीपी कडरिया (नेकपा माओवादी केन्द्र) :
माओवादीले सुरु गरेको जनयुद्धकालदेखि नै पार्टीभित्र रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आएका सीपी कडरिया नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवारका रूपमा प्रस्तुत भएका छन् ।
कुरा गरेरभन्दा पनि काम गर्नुपर्छ भन्ने मान्यता राख्ने कडरिया पार्टीभित्र इमानदार छवि भएका नेताहरूमध्ये पर्छन् । खासगरी विकासप्रेमी नेताका रूपमा परिचित कडरिया बिर्तामोड नगरपालिकाको भावी मेयरको आकाङ्क्षी भइरहँदा नगरभित्रका चुनौती के–के देख्छन् त ? प्रस्तुत छ नगरभित्र उनले देखेको चुनौती र समस्या समाधानका लागि योजना ।
– ढल निकास, नदी नियन्त्रण र पर्यावरणीय विकास
– सुकुम्बासी व्यवस्थापन फुटपाथको वैज्ञानिक व्यवस्थापन
– फोहोर मैला व्यवस्थापन
– ट्राफिक व्यवस्थापन
– शान्ति सुरक्षा कायम गर्नु
– बेरोजगारी समस्या समाधान
योजना :
बिर्तामोड नगरभित्र देखिएका समस्या समाधानका लागि विस्तृत र वैज्ञानिक सहरी सडक यातायात गुरुयोजना तयार गरी निर्माण र कार्यान्वयन, नदी नियन्त्रणका लागि विस्तृत डीपीआर र गुरुयोजना तयार गरी तदनुरूप बजेटको व्यवस्थापन, नदी कटान र डुबान नियन्त्रण गर्दै पर्यावरणको विकास गर्ने, सुकुम्बासीका लागि स्थायी बसोबासको प्रमाणपत्रसहित धनीपुर्जा उपललब्ध र घरधुरी कर रसिद उपलब्ध गराउने, फोहोर मैला नियन्त्रणका लागि घटाउने, पुनः प्रयोग र हटाउने तीनवटा विधि अपनाएर काम गर्ने, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा बिर्तामोडको सापेक्षताअनुसार व्यवस्थापन गर्ने, ट्राफिक जाम कम गर्न डाइभर्सन रोडको व्यवस्थापन गर्ने, प्राविधिक कलेजको स्थापना, सम्भावनायुक्त विभिन्न उद्योग स्थापनाको माध्यमबाट रोजगारी सिर्जना गरी बेरोजगार युवा पलायनको क्रमलाई न्यूनीकरण गर्दै जाने, पेसागत र व्यावसायिक सुरक्षाका लागि शान्तिसुरक्षाको व्यवस्था, जीविकोपार्जनको ग्यारेन्टीका लागि उचित स्थानको निर्धारण गरी फुटपाथको वैज्ञानिक व्यवस्थापन, ज्येष्ठ नागरिक तथा बालबालिकालक्षित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनलगायतका कामलाई आफूले प्राथमिकतामा राखेको कडरियाले बताए ।
भक्ति सिटौला (राप्रपा नेपाल) :
३५ सालदेखि नेपाल विद्यार्थी सङ्घको जिम्मेवारीबाट राजनीतिमा लागेका भक्ति सिटौला बिर्तामोड नगरको मेयर पदमा राप्रपाबाट उम्मेदवार बनेका छन् । लामो समय काङ्ग्रेसको राजनीतिमा बिताएका सिटौला २०७० सालदेखि तत्कालीन राप्रपा नेपालमा प्रवेश गरी त्यसै साल भएको संविधानसभा दोस्रो निर्वाचनमा झापा क्षेत्र नम्बर–२ बाट उम्मेदवार उठेका थिए । राप्रपा प्रवेशदेखि नै पार्टीभित्र र बाहिर पनि राम्रो स्थान पाइरहेका सिटौला हाल राप्रपाको केन्द्रीय सदस्य छन् । काङ्ग्रेसका विभिन्न पदको जिम्मेवारी सम्हाल्दासम्म इमानदार र निष्ठाको राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने मेयरका आकाङ्क्षी सिटौलाका नजरमा बिर्तामोड नगरका चुनौती के–के छन् त ?
– व्यवस्थित नगरको विकास र मापदण्डअनुसारको सहरीकरण
– शान्ति, सुरक्षा कायम गर्दै भयरहित वातावरणमा पेसा–व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता
– ट्राफिक व्यवस्थापन
– नगरका सबै जनताका घर–घरमा खानेपानी, बिजुली र टेलिफोन
– फोहोरमैला व्यवस्थापन
– कृषि उत्पादनको उचित व्यवस्थापन र बजारीकरण
योजना :
अनियन्त्रित रूपमा रहेका बसोबासलाई प्रक्रियागत ढङ्गबाट व्यवस्थित बनाउने, नगर क्षेत्रमा उत्पादित फोहोरको सङ्कलन गरी त्यसबाट मोहर बनाउने तथा नसड्ने फोहोरलाई पुनः प्रयोगमा ल्याउने, ढल निकासलाई व्यवस्थित बनाउने, अतिक्रमणमा परेका प्राकृतिक सम्पदालाई पुरानै ठाउँमा फर्काउन पहल गर्ने, विषादीयुक्त तरकारी आयातको नियन्त्रण तथा कृषि उत्पादनलाई व्यवस्थित गर्दै कृषकलाई पशुपालन र आधुनिक कृषिखेती प्रणालीतर्फ प्रोत्साहित गर्ने, वृद्धवृद्धालाई सम्मानपूर्वक बाँच्ने वातावरणको निर्माण, रिटायर्ड जीवन बिताइरहेका वृद्धवृद्धासँग भएको ज्ञान र सीपको प्रयोग गर्ने, शिक्षा र स्वास्थ्यको व्यापारीकण नियन्त्रण गर्दै सेवामुखी बनाउनुपर्ने, फनपार्क निर्माण, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्टेडियम निर्माण, बालबालिकालक्षित फनपार्क निर्माण, नगरक्षेत्रमा रहेका वन र वन्यजन्तुको संरक्षण गर्दै चिडियाखानाको रूपमा विकास गर्नेलगायतका योजना अघि सारेका छन् ।
दुईवटा विषयमा स्नातकोत्तर गरेका सिटौला पनि २२–२४ वटा देशको भ्रमण गरिसकेको बताउँदै त्यहाँ देखिएको विकासलाई आफूले बिर्तामोड नगरमा कार्यान्वयन गर्ने बताए । लामो समयदेखि अरू पार्टीलाई हेरिसकेका राजनीतिक दलका बीचमा राप्रपा यसपटकको चुनावमा मुख्य शक्तिको रूपमा उदाएकोले आफ्नो जित निश्चित भएको उनको दाबी छ ।
०००
मतदाताका माग
‘घरको अगाडि लाइन कुद्छ, तर हामी अँध्यारैमा बस्नुपर्छ । ट्वाइलेट छैन, बनाउन साहुले जमिन दिँदैन,’ बिर्तामोड नगरपालिका–८ पग्लीबारीनिवासी गीता चौधरीले दुःखेसो गरिन् । सुुकुम्बासीबस्तीको यथार्थ दर्शाउँदै मत माग्न गएको टोली देख्नेबित्तिकै उनले आक्रोश पोखिन्, ‘६ पुस्ता अघिदेखि हामी यहीँ बस्दै आएका छौँ । हिउँदमा शौच बस्न खोलामा जान्छौँ, अलिकति पानी पर्नेबित्तिकै शौच बस्न कहाँ जानु ?’
सुकुम्बासी बस्तीको यथार्थ दर्शाउँदै त्यहीँका अर्का बासिन्दा फुलोसरी चौधरीले भनिन्, ‘यो बस्तीमा एउटा मात्रै कल छ, २० घरपरिवारलाई पानी खान कसरी पुग्छ ?’ बिर्तामोड नगरपालिका–८ पग्लीबारीमा थारू मूलका २० घर सुकुम्बासीको बसोबास छ ।
‘चुनाव आउँदा भोट माग्न आउँछन्, अघिपछि हाम्रो दुःख कसैले देख्दैनन्,’ फुलोले थपिन्, ‘मान्छे कहाँबाट कहाँ पुगिसक्यो, हामीचाहिँ अझै टुकी बाल्दैछौँ ।’ बस्तीसँगै जोडिएको बाटोबाट बिजुलीको लाइन विस्तार गरिए पनि सो बस्तीमा विद्युत् विस्तार नहुँदा स्थानीय टुकी बाल्न बाध्य भएका हुन् ।
बिर्तामोड नगरपालिका– ९ का स्थानीयबासीले पुल निर्माण गरिदिनेलाई मात्र भोट दिने बताएका छन् । असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि भोट माग्न आफ्नो टोलमा पुग्ने उम्मेदवारलाई गरामनी–९ भुसुँडी खोला आसपासका बासिन्दाले खोलामा पुल निर्माणको भरपर्दो प्रतिबद्धता मागेका हुन् । ‘जसले पुल निर्माण गरिदिन्छ उसैलाई भोट दिन्छु,’ स्थानीय मीना खतिवडाले भनिन् ।
बिर्तामोड– ९ को डाँडागाउँ र लखिवारी जोड्ने पुल भत्किएको लगभग ५ वर्ष बितिसक्दा पनि निर्माण नभएपछि स्थानीयवासीले भोट माग्न जाने उम्मेदवारलाई पुल निर्माणको प्रतिबद्धता मागेका हुन् । गरामनीबाट जलथल हुँदै घेराबारीसम्म बस चल्ने उक्त बाटोको पुल भत्किएपछि सवारीको बाटो नै परिवर्तन भएको छ । यसका कारण चिन्तित भएका स्थानीयवासीहरूले पुल निर्माण गरिदिनेलाई खुला मत दिने जनाएका छन् ।
पुल नहुँदा गाउँलेले समस्या भोग्नुपरेको स्थानीय चन्द्रकला तामाङले बताइन् । पुल निर्माण गरिदिनेलाई नै भोट दिने उनको भनाइ छ । तामाङका अनुसार हिउँदमा खासै पानी नदेखिने उक्त खोलाले वर्षामा भने स्थानीयको जमिन कटान गर्नुका साथै आवतजावतका लागि बाटो नै बन्द हुने गरेको छ । सो बाटोमा पुल निर्माणका लागि यसअघि नै माटो परीक्षण गरिएको छ । सोपश्चात् निर्माणका लागि भन्दै ६ महिना अघिदेखि थुपारिएको गिटी र बालुवा अहिले उठाएर अन्यत्रै लान थालेपछि स्थानीयवासी आक्रोसित भएका छन् ।
प्रतिक्रिया