डा. महत भन्छन् : शत्रुको काम हुन सक्छ

डा. महत भन्छन् : शत्रुको काम हुन सक्छ


यो साताभरि नेपाली काङ्ग्रेसका नेता एवम् अर्थविद् रामशरण महत बेपत्ता भएको भन्ने हल्ला–चर्चा व्यापक रूपमा चल्यो । आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धानको दायरामा ल्याएपछि डा. महत बेपत्ता भएको भन्ने हल्ला व्यापक रूपमा चलेको हो । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएसँगै सम्भावित अर्थमन्त्रीका रूपमा डा. महतको नाम चर्चामा आउनु र महत बेपत्ता भएको भनी प्रचारबाजी गरिनुलाई संयोग मात्र मानिएको छैन । यसलाई नियोजित ढङ्गले प्रचारबाजी गराउने कार्यमा नुवाकोटकै एक काङ्ग्रेस नेता लागिपरेको पाइएको छ ।

नेता महत बेपत्ता भएको हल्ला भएपछि घटना र विचारले सम्पर्क गर्दा उनी पार्टी काममा खटेको अवस्थामा पाइयो । तपाईं त बेपत्ता हुनुभयो भन्ने हल्ला–चर्चा व्यापक रूपमा चल्यो, कता के गर्दै हुनुहुन्छ भनी जिज्ञाशा राख्दा उहाँले हाँस्दै भन्नुभयो, ‘हा हा हा… म नियमित पार्टी काममा छु र अहिलेचाहिँ झापाको धुलाबारी, इलामको राँके, पाँचथरको मौवा, पञ्चमी र रविबजार, धनकुटाको पाख्रिबास र हिले, धरान, इटहरी र मोरङको बेलबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्कंदै छु ।’ त्यसो भए तपाईं बेपत्ता भएको भन्ने हल्लाचाहिँ किन र कसरी चल्यो त भन्ने हाम्रो जिज्ञाशामा डा. महतले भन्नुभयो, ‘न म बेपत्ता हुनुपर्ने कारण छ न कुनै पनि अवस्थामा बेपत्ता हुने मान्छे हुँ म, मेराबारेमा यसप्रकारको हल्ला शुभचिन्तक र सन्तुलित दिमाग भएका मानिसले चलाएको होइन भन्ने ठान्दछु ।’

० चूडामणि शर्मालाई अख्तियारले हिरासतमा लिएपछि तपाईं हराएको भन्ने समाचार आउनुलाई जोडेर हेर्न मिल्दैन ?
– चूडामणिमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ, राज्यको एउटा महत्वपूर्ण निकायले अनुसन्धान गरिरहेको विषयमा बोल्नु उचित ठान्दिनँ म ।

० तपाईं अर्थमन्त्री रहेका बेला गठन गरिएको कर फस्र्योट आयोगमा रहेर चूडामणि शर्माले नियमविपरीत अर्बौंबराबरको कर छुट दिएको भन्ने विषयलाई चाहिँ कसरी लिनुहुन्छ नि ?
– सरकारी बक्यौताहरू उठाउन बाँकी भएकोले निजी क्षेत्रको समेत सुझावमा नियमानुसार कर फस्र्योट आयोग गठन गरिएको हो । नक्कली भ्याट बिल प्रकरणलाई अलग्गै हेर्ने गरी बक्यौता उठाउने जिम्मेवारी आयोगलाई दिइएको हो । चार्टर्ड एकाउन्टेन्ड लुम्बध्वज महतलाई आयोगको अध्यक्षको जिम्मेवारी दिइएको थियो भने विज्ञका रूपमा उमेश ढकाल सदस्य र आन्तरिक राजस्वका महानिर्देशक पदेन सदस्य रहेका थिए । तिनले कसरी कार्य सम्पादन गरे भन्ने विषयमा मैले जानकारी पाउनुपर्छ भन्ने होइन । यस्ता आयोग योभन्दा अघि पनि आधा दर्जनभन्दा बढी बनेका थिए । पहिले अनुपराज शर्मा र नारायणराज तिवारीजस्ता मानिसले पनि आयोग अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका हुन् । सरकारी बक्यौता फस्र्योट गर्ने राम्रो उद्देश्यले नै आयोग गठन गर्ने गरिएको हो, आफ्नो जिम्मेवारी पूरा गरे–नगरेको भन्ने विषयमा सम्बन्धित अधिकारीहरूबाट जवाफ खोज्न नसकिने होइन । तर, यस्ता कुरासँग मलाई जोडेर चर्चा गर्ने काम कसैले गरेका छन् भने शत्रुको कमी कसैको पनि हुँदैन भनेर बुझ्नु उचित हुन्छ ।