एमालेनिकट देखिनेलाई पाखा लगाउँदै प्रचण्ड

एमालेनिकट देखिनेलाई पाखा लगाउँदै प्रचण्ड


देशमा नेकपा एमालेविरुद्धको मोर्चाबन्दी कसिलो तुल्याउँदै लैजाने क्रममा माओवादी पार्टीभित्र पनि एमालेसँगको गठबन्धनलाई प्राथमिकता दिनुपर्छ भन्ने नेताहरूलाई पाखा लगाउने ‘नियोजित अभियान’ सुरु भएको छ । प्रचण्डनिकट सूत्रका अनुसार विचार र व्यवहारमा जो एमालेसँग निकट छन् र, जसले काङ्ग्रेसभन्दा एमालेसँग गठबन्धन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा राखेका छन् तिनलाई सकेसम्म मन्त्री बनाइने छैन, कदाचित मन्त्री बनाउनुपरे पनि ‘राम्रो’ मन्त्रालय दिइने छैन ।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको सिफारिसमा गिरिराजमणि पोखरेललाई भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिइनुपर्छ भन्ने माग भइरहेको भए पनि प्रचण्ड पोखरेललाई उक्त मन्त्रालय दिनुपर्छ भन्नेमा अहिलेसम्म छैनन् । भौतिक योजना मन्त्रालय नदिने अवस्थामा सहरी विकास मन्त्रालय भए पनि पोखरेललाई दिइनु उपयुक्त हुने कुरा उठ्यो । यसरी पोखरेललाई सहरी विकासमन्त्री बनाउने दबाब पर्न थालेपछि प्रचण्डले प्रभु साहलाई सो मन्त्रालय सुम्पिदिएका छन् ।

नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलले एमालेसँगको गठबन्धनलाई प्राथमिकतामा राख्दै आएको र संविधान संशोधनको एजेण्डामा पनि फरक धारणा (संशोधनविपरीत) भएकोले नारायणकाजी श्रेष्ठको इच्छाअनुसार पोखरेललाई ‘राम्रो’ मन्त्रालय दिन प्रचण्डले इन्कार गरेकोे बताइन्छ । नेताहरू टोपबहादुर रायमाझी, शक्ति बस्नेत, हरिबोल गजुरेल र अग्नि सापकोटालगायतले पनि एमालेसँगको गठबन्धनमा जोड दिँदै संविधान संशोधनको विषयमा एमालेको अडान ठीक रहेको भन्न थालेपछि उनीहरूलाई पनि पाखा लगाइने भएको छ । काङ्ग्रेससँगको गठबन्धन र संविधान संशोधनको पक्षमा रहेका कृष्णबहादुर महरा र जनार्दन शर्मालाई दोहो¥याएर मन्त्री बनाइएको छ ।

त्यस्तै, वर्षमान पुनको सिफारिसलाई पनि प्रचण्डले उच्च महत्व दिने गरेका छन् । तर, रायमाझी, बस्नेत र सापकोटालगायतका नेताहरूलाई प्रचण्ड नेतृत्वको सरकारमा सामेल गराइएन र अहिले पनि पाखा लगाउने प्रयास भइरहेको छ । पूर्वउपप्रधानमन्त्री रायमाझी र गृहमन्त्री बस्नेतलाई त प्रचण्डले शङ्काको घेरामा राखेको बताइन्छ । पाँच नम्बर प्रदेश विभाजनको प्रयासविरुद्ध एमालेसँग मिलेर सडक–सङ्घर्षमा उत्रिएपछि रायमाझीलाई सन्देहको घेरामा राखिएको थियो । यसपटक उनी उपप्रधानमन्त्रीको हैसियतसहित सरकारमा सामेल हुन इच्छुक भए पनि कसैले उनको नाम लिइदिएनन् । माओवादीको बलियो मानिने जाजरकोटमा हालै सम्पन्न स्थानीय निर्वाचनमा एमालेले ठूलो उपलब्धि हासिल गरेपछि शक्ति बस्नेत पनि शङ्काको घेरामा परेका छन् । एमालेसँग निकट हुनुपर्ने धारणा राख्ने बस्नेतको जिल्लामा अनपेक्षित ढङ्गले एमालेलाई सफलता मिलेपछि बस्नेतप्रति प्रचण्डले शङ्का गर्न थालेका छन् ।

रायमाझीजस्तै बस्नेतलाई पनि मन्त्री नबनाइने सम्भावना प्रबल छ । उता चीनसँग निकटको सम्बन्ध बनाइनुपर्छ भन्ने अग्नि सापकोटालाई पनि मन्त्रिमण्डलमा सामेल नगराउने सङ्केत प्रचण्डले दिएका छन् । प्रचण्डको प्राथमिकतामा आफूसँग राय नबझाउने, आँखा जुधाएर बोल्न नसक्ने र आफूप्रति पूर्ण इमानदार रहेर काम गर्न सक्ने व्यक्तिहरू परेका छन् । नचाहेर पनि नारायणकाजी श्रेष्ठको सिफारिसमा गिरिराजमणि पोखरेललाई मन्त्री बनाइनसक्ने र पोखरेललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सोच बनेको बुझिन्छ । त्यस्तै शिवकुमार मण्डल, आशा खनाल, शान्त चौधरी र महेन्द्रबहादुर शाहीजस्ता आफूप्रति पूर्ण ‘लोयल’ व्यक्तिहरूलाई मन्त्री बनाउने योजनामा प्रचण्ड रहेका छन् । सम्भावित राज्यमन्त्रीमा पहिले वर्षमान पुनको सवारीचालकको अनुभव हासिल गरी हाल स्वकीय सचिवको भूमिकामा रहेका श्यामकुमार श्रेष्ठको नाम चर्चामा आएको छ । त्यस्तै रेशम चौलागाईंलाई पनि यसपालि राज्यमन्त्री बनाएर ‘न्याय’ दिन खोजिएको बताइन्छ । अचेल प्रचण्डमाथि वर्षमान हावी भएका छन् । मन्त्रिमण्डलमा दोहोरिएर जाने इच्छा प्रकट गरेर पनि सुरेन्द्र (राम) कार्कीको इच्छा पूरा नहुने भएको छ । माओवादीलाई सामान्य प्रशासन, ऊर्जा, पशुपन्छी र स्वास्थ्यलगायतका मन्त्रालय पर्ने बुझिएको छ । प्रचण्डले भौतिक योजना मन्त्रालय पनि आफ्नो भागमा पार्ने प्रयास गरिरहेका छन् ।