नेपाली काङ्ग्रेस सैनामैनाको यस्तो छ नगरविकासको योजना

नेपाली काङ्ग्रेस सैनामैनाको यस्तो छ नगरविकासको योजना


रुपन्देही । नेपाली कांग्रेस सैनामैनाले समृद्ध सैनामैना नगरको परिकल्पना गर्दै विकास, सुरक्षा र सम्मृद्धिको नारालाई केन्द्रमा राखेर १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । आसन्न स्थानीय तह (दोस्रो चरण)को निर्वाचनलाई केन्द्रित गर्दै कांग्रेसले आगामी पाँच वर्षभित्रमा गर्न सकिने कामको रेखांकनसहित घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा कांग्रेसले स्थानीय स्तरमा सम्पूर्ण वार्डका ग्राभेल सडकको स्तरोन्नती गरी ४ वर्षभित्र एक सय किलोमिटर पक्की सडक निर्माण गर्ने उल्लेख गरेको छ भने आगामी पाँच वर्षभित्रमा नगरका सवै ग्राभेल सडक पीच गर्ने, सैनामैनामा एउटा बसपार्क र नगरबस चलाउने, मधेशी तथा जनजातिको बसोबास रहेको कुस्मा, हडैया र सदबोदरा जोड्ने पक्की कजवे निर्माण गर्ने, सैनामैना–७ मनरहवामा पक्की पुल निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ ।
आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा पूर्ण रुपमा निःशुल्क गर्ने, सीपमूलक शिक्षामा जोड दिने, प्रत्येक वार्डमा पुस्तकालयको व्यवस्था गर्ने, पशुपालन, कृषिको विकास, कृषि उपजको वृद्धि गरी सैनामैनालाई आत्मनिर्भर बनाउने, सबै विद्यालयमा पुस्तक, इण्टरनेटलगायतका प्रविधिको विकास गर्ने घोषणापत्रमा उल्लेख छ । सैनामैनाको प्रमुख समस्याको रुपमा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने, तत्काल गाउँब्लक तथा आठ नम्बर जग्गालाई निश्चित मापदण्ड बनाई सम्बन्धित घरधनीलाई पुर्जा वितरण गर्ने उल्लेख छ ।

घोषणापत्रमा सैनामैना–१ मा रहेको पर्रोहा बोलबमधामलाई राष्ट्रिय स्तरको धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गर्ने, मलमला मन्दिरको पुनर्निर्माण गर्ने र सबै वार्डमा रहेका मठ मन्दिर, चर्च तथा अन्य धार्मिक आस्थाका केन्द्रको विकास र विस्तारमा योजनाबद्ध रुपमा काम गर्ने उल्लेख छ । त्यसैगरि सबै वार्डलाई उज्यालो वनाउन सोलार र बायोग्याँसको प्रवद्र्धन गर्ने, खेलकुदको विकासका लागि सैनामैनामा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने, सुविधा सम्पन्न रंगशाला पाँच वर्षभित्रमा निर्माण गर्ने, स्वास्थ्य बीमाको नीति लागू गर्ने, प्रत्येक वार्डमा प्रसुति सेवासहितको कम्तीमा १० शैयाको अस्पताल निर्माण गर्ने, सैनामैना–१ मा रहेको प्राकृतिक चिकित्सालयको व्यवस्थापनसहित संचालन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी नगरमा एक बारुणयन्त्रसहित एक एम्बुलेन्स निशुल्क रुपमा संचालन गर्ने, आगामी तीन वर्षभित्रमा सबै मानव वस्तीमा सुरक्षित खानेपानी पु¥याउने घोषणापत्रमा उल्लेख गरिनुका साथै नगरको प्रमुख चुनौतीका रुपमा रहेको फोहरमैलाको व्यवस्थापनका लागि जग्गा छनोट गरि ल्याण्डफिल्ड साईड निर्माण गरिने उल्लेख छ । स्थानीय खोलाले क्षति गरेको जमिनमा बृक्षारोपण गर्ने, नदी उकास क्षेत्रको विकास गर्ने, तटवन्धको व्यवस्था गर्ने, नदीजन्य वस्तुको निकासीको यथोचित व्यवस्थापन गर्ने तथा सैनामैनालाई प्लाष्टिक झोलामुक्त नगर बनाउने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
महिलाविरुद्ध हुने सवै प्रकारका विभेदको अन्त्य गर्ने, सैनामैनाका यूवाहरुलाई स्वरोजगारमूलक कार्यक्रममा सहभागी वनाई रोजगारीको व्यवस्था गर्ने, युवा उद्यम कोष चुनौती कोष स्थापना गर्ने, युवाहरुलाई तालिम, कार्यक्रम संचालन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । सैनामैनामा औद्योगिक प्रदर्शनी तथा मेला आयोजना गर्न सैनामैनामा सैनामैना मण्डप तथा प्रदर्शनी स्थलको निर्माण गर्ने, औद्योगिक कोरीडोर निर्माण गर्ने, नगरमा रहेका सवै सहकारीलाई स्वरोजगारका क्षेत्रमा लगाउने उल्लेख छ ।

बालबालिकाको विकासका लागि नगरवाट छुट्टिने कूल बजेटको २० प्रतिशत बालबालिका कोषमा जम्मा गर्ने, अनलाईन मिडियालाई व्यवस्थित वनाउने, स्थानीय टेलिभिजन र रेडियोलाई आधुनिकीकरण गर्ने, युवा र महिलालाई लक्षित गरि पत्रकारिता तालिम तथा उदघोषण कला तालिम प्रदान गर्ने घोषणापत्रमा उल्लेख छ । यसैगरी घोषणापत्रमा दलित वर्गमा हुने गरेको विभेद, अपहेलना र असहिष्णु व्यवहारको अन्त्य गर्ने, दलित तथा अपाङ्गहरुलाई शिक्षा, स्वास्थ्य र अन्य सेवामा सहुलियतको व्यवस्था गर्ने, दलित, जनजाति र आदिवासी, मधेशी र अपाङ्ग समुदायलाई राज्यका हरेक सेवा र स्थानमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख छ ।

ज्येष्ठ नागरिकलाई सैनामैना नगर क्षेत्रमा संचालन हुने नगर वसमा शत प्रतिशत सुहलियत प्रदान गर्ने, ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क गर्ने, सामाजिक सुरक्षा भत्तालाई सहज र प्रभावकारी वनाउने, सहकारीको माध्यमवाट ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तर अघि बढाउने र प्रत्येक वार्डमा एक एक सत चिन्तन सतसङ्ग सामुदायिक प्रतिष्ठानको भवन निर्माण र व्यवस्थापन गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणापत्रमा नेपाली कांग्रेस न्यायिक समाजको निर्माणमा कटिवद्ध रहने, समावेशी, उत्तरदायी, भ्रष्टाचाररहित सुशासन व्यवस्था कायम गर्ने, सार्वजनिक सेवा, नगर प्रहरी तथा सुरक्षा, तथ्यांक र अभिलेख व्यवस्थापनमा जोड दिने उल्लेख गरिएको छ भने सैनामैना १ मा रहेको कर्साघाट तथा सैनामैना ७ मा अवस्थित स्वर्गद्वारी घाटमा दुई दुईवटा पक्की शवदाह गृह निर्माण गरि दाहसंस्कारलाई व्यवस्थित गर्ने र सैनामैना ४ मा अवस्थित अस्नैया डाँडाँमा ई– लाईब्रेरी सहितको व्यवस्थित गणेशमान स्मृति पुस्तकालय निर्माण गर्ने, शहिद बाटिका र बाल उद्यान निर्माण गर्ने, सैनामैनाको वार्ड नं. २,४,५ र ११ मा सैनामैना थारु होमस्टेको निर्माण गर्ने, प्राचीन स्थलको संरक्षण गर्ने लगायतका योजना घोषणापत्रमा उल्लेख गरिएको छ ।
– चन्द्रकान्त खनाल