यी हुन् सम्भावित मन्त्री !

यी हुन् सम्भावित मन्त्री !


नेपाली कांग्रेस र माओवादीभित्र मन्त्री बन्न भएको प्रतिस्पर्धामा केही व्यक्तिहरूको नाम सर्वाधिक अगाडि आएको छ । काङ्गे्रस र माओवादीभित्र केही नेताहरू दोहोरिएर मन्त्री बन्ने कसरतमा लागिपरेका छन् भने नयाँलाई प्राथमिकता दिनुपर्छ भन्ने आवाज पनि जोडतोडका साथ उठिरहेको छ । नेपाली कांग्रेसमा डा. नारायण खड्का, मीन विश्वकर्मा, रामकृष्ण यादव, राजन केसी, सरिता प्रसाईं, भीमसेनदास प्रधान, एनपी साउद, मोहनबहादुर बस्नेत, भक्तबहादुर बलायर, महेश आचार्य, चन्द्र महर्जन, बुद्धिराम भण्डारी, बलबहादुर केसी र कमला पन्तको नाम सम्भाव्य मन्त्रीको सूचीमा परेको छ । बालकृष्ण खाण, डा. प्रकाशशरण महत र रमेश लेखकलाई पुनः मन्त्री बनाउन देउवामाथि दबाब बढिरहेको भए पनि डा. महत र लेखकलाई अन्य कुनै जिम्मेवारी दिइने र दोहो¥याउनुपर्दा बालकृष्ण खाणलाई मात्र मौका दिइने सम्भावना छ ।

त्यस्तै, माओवादीका तर्फबाट मन्त्री बनाइनेहरूमा शिवकुमार मण्डल, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शान्त चौधरी, श्याम श्रेष्ठ, हरि ज्ञवाली, आशा खनाल र रामनारायण बिडारीको नाम चर्चामा छ । टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र अग्नि सापकोटाले पनि मन्त्रिमण्डलमा पर्न प्रयास गरिरहेका छन् । सापकोटाले आफूमाथि ज्यान मुद्दा रहेको र सुरक्षाकै लागि पनि मन्त्री बन्न आवश्यक भएको भनी प्रचण्डसँग गिडगिडाइरहेको बताइन्छ । पहिले मन्त्री हुँदा अनुभव मात्र संगालेको, अब मन्त्री बन्न पाए जनार्दन शर्माले भन्दा राम्रो काम गर्छु भन्ने दाबी पनि सापकोटाले प्रचण्डसँग गर्दै आएका छन् । तर, उनलाई मन्त्री बनाउने वचन प्रचण्डले अहिलेसम्म दिएका छैनन् । उता हरिबोल गजुरेलले चाहिँ बाबुराम भट्टराई निकटहरूलाई पार्टीमा एकताबद्ध राख्न आफूले विशेष योगदान पु¥याएको र आफूले प्रचण्ड नेतृत्वका लागि धेरै गरिसकेको भन्दै मन्त्री नबनाए आइन्दा केही नगर्ने चेतावनी दिइरहेका छन् । गजुरेललाई पनि प्रचण्डले अहिलेसम्म मन्त्री बनाउन वचन दिएका छैनन् । बरु वर्षमान पुनका एक समयका ड्राइभर हाल उनकै स्वकीयसचिव रहेका श्याम श्रेष्ठले भने मन्त्रिमण्डलमा प्रवेश पाउने सम्भावना बढेको छ ।