रङ्गीन गभर्नरको यस्तो चाला !

रङ्गीन गभर्नरको यस्तो चाला !


‘आफ्नो हात जगन्नाथ’ भन्ने उक्तिको चरितार्थ नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले गरेका छन् । भूकम्पलाई कारण देखाउँदै केन्द्रीय बैंकका अधिकांश बैठक, सभा, गोष्ठी दिनहुँजसो राजधानीका तारेहोटेल र वरिपरिका रेसोर्टमा गर्ने गरिएको छ । भूकम्पअघि वर्षको लाखौँ रुपैयाँमा सीमित होटेल–खर्च पछिल्लो वर्षमा आइपुग्दा करोडौँमा पुगेको छ । असार पहिलो साताको पूरै अवधि बैंकले बजेट गोष्ठीको नाममा होटेल याक एण्ड यतीमा बितायो । बैंकका गभर्नर, डेपुटी गभर्नर र झन्डै एक सयको सङ्ख्यामा उच्च तहका कर्मचारीहरू एक सातासम्म होटेलमा ‘व्यस्त’ हुँदा बैंकको नीतिगत तहका काम–कारबाही ठप्प भए । गोष्ठीका कारण ठप्प भएको काम यथावत् राखेर गभर्नर नेपाल असार ७ गते दस दिनका लागि स्वीट्जरल्यान्डतर्फ लागेका छन् । डेपुटी गभर्नर शिवराज श्रेष्ठ १० दिनभन्दा बढी चीन र थाइल्यान्डको भ्रमण गरेर जेठको अन्तिममा मात्र काठमाडौं भित्रिएका थिए । अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी पनि झन्डै १० दिनको युरोप यात्रापछि यसै साता मात्र कार्यालय भित्रिएका छन् ।

गभर्नर र डेपुटी गभर्नरको विदेश यात्राको शृङ्खला चलेपछि बैंकको सबैभन्दा महत्वपूर्ण बैंक तथा वित्तीय संस्था नियमन विभागमा कर्मचारीहरू अन्य बैंक तथा वित्तीय संस्थासँग मोलमोलाई गरेर आफ्नो स्वार्थमा हिँडे्ने गरेकोसमेत पाइएको छ । हालै मात्र मर्जर युनिटमा कार्यरत उपनिर्देशक अनुज दाहाल र सोही विभागका सहायक निर्देशकले नियमविपरीत लुम्बिनी फाइनान्सलाई दबाब दिएर जनही २ करोड रुपैयाँको सेयर धितो कर्जा लिए पनि बैंकले दाहाल र ढकाललाई सामन्य स्पष्टीकरणसमेत सोध्न सकेको छैन । पछिल्लो केही समयदेखि नियमन विभागका जिम्मेवार कर्मचारीहरू अन्य बैंक तथा वित्तीय संस्थाको नयाँ शाखाको फाइल रोकेर आफ्ना मान्छेलाई जागिर लगाउन तथा सुलभ दरमा कर्जा उपलब्ध गराउन उद्यत् रहेको पनि पाइएको छ ।

उता गभर्नर नेपाल पनि नेपालमा बसेको बेलामा प्रायः सप्ताहन्त पारेर अन्य बैंकको शाखा उद्घाटन गर्ने निहुँमा उपत्यकाबाहिर जाने गरेका छन् । अन्य बैंकको खर्चमा खाजासमेत खान नहुने भन्ने केन्द्रीय बैंकका गभर्नरले पटक–पटक निजी क्षेत्रका बैंकको शाखा उद्घाटन गर्ने क्रममा महँगो शुल्कको हेलिकोप्टर प्रयोग गर्ने गरेका छन् । उनले केही महिनाअघि मात्र मनाङको चामेमा बैंकको शाखा उद्घाटन गर्न जाँदा हेलिकोप्टर प्रयोग गर्न लगाएका थिए । त्यसबापतको लाखौँ खर्च प्रभु बैंकले व्यहोर्नुपरेको थियो ।

गभर्नर नेपाल उपत्यकाबाहिर जाँदा आफ्नै बैंकको सुविधासम्पन्न गेस्टहाउसमा रात नबिताई अन्यत्र बसोवास गर्ने गरेकोसमेत स्रोतले बताएको छ । प्रायः भैरहवा र पाल्पा गइरहने नेपाल बुटवलस्थित ड्रिमल्यान्ड रिसोर्टमा बस्न रुचाउँछन् भने, गत मङ्सिरमा धनगढी जाँदा आफ्नै बैंकको सुविधासम्पन्न र सेनाको सुरक्षा रहेको गेस्टहाउसमा नबसी मिनी क्यासिनो रहेको अगाडिको होटल डिभोटीमा २ रात बिताएका थिए । तैपनि उनी धनगढी कार्यालय प्रवेश गरेनन् । पोखरामा पनि गभर्नर नेपाल प्रायः फेवाताल किनारमा रहेका महँगा होटेलमा रात बिताउँदा खुसी देखिने गरेको निकटस्थहरू बताउँछन् । जबकी बैंकको पोखरालगायत उपत्यकाबाहिरका धनगढी, नेपालगञ्ज, वीरगञ्ज, जनकपुर र विराटनगर कार्यालय हातामा रहेको अति विशिष्ट कक्षको अतिथिगृहमा रात बिताउन प्रधानमन्त्री तथा मन्त्रीहरूको रोजाइ बन्ने गरेको अवस्थामा गभर्नरचाहिँ किन भड्किएका हुन् थाहा पाउन सकिएको छैन । नेपाली सेनाको सुरक्षा रहेको बैंक हाताको सुविधासम्पन्न गेस्टहाउसमा नबस्ने गभर्नरले सुरक्षाका लागि भन्दै केन्द्रीय बैंकले नेपाल प्रहरीलाई शुल्क तिरेर राखेको निजी सुरक्षाकर्मी साथ लिएर हिँड्नुलाई गभर्नर नेपालको अनौठो सोखका रूपमा लिइएको छ ।