वैदेशिक रोजगारीमा जाने नेपालीको सेवामै व्यवसायीले आफ्नो व्यावसायिकता खोज्नुपर्ने

वैदेशिक रोजगारीमा जाने नेपालीको सेवामै व्यवसायीले आफ्नो व्यावसायिकता खोज्नुपर्ने


वैदेशिक रोजगारीका लागि विभिन्न खाडी देशमा जाने लाखौँ नेपालीको सुरक्षा र हितमा काम गर्न नेपालका वैदेशिक रोजगार व्यावसायीलाई आग्रह गरिएको छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीले आइतबार राजधानीमा आयोजना गरेको एक अन्तरक्रियात्मक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले त्यस्तो आग्रह गरेका हुन् । अन्तरक्रियामा उनले देशका समग्र व्यवसायीले वैदेशिक रोजगारीमा रहेका ठूलो सङ्ख्याका नेपालीको हित र सुरक्षामा आफ्नो व्यवसायको पनि हित ठान्नुपर्नेमा जोड दिए ।

नेपालमा अझै समृद्धि र स्थायित्व नभएकाले रोजगारीका लागि विदेशमा जानु उनीहरुको बाध्यता भएको, यसर्थ व्यवसायीले उनीहरुको सेवामा नै आफ्नो व्यावसायिकता खोज्नुपर्छ भन्दै पूर्वमन्त्री डा. महतले नेपालमा प्रजातन्त्रको विकाससँगै विभिन्न पेसा, वर्ग र व्यवसायको हित प्रवद्र्धनका लागि व्यवसायी सङ्गठित हुने क्रममा वैदेशिक रोजगार व्यवसायी पनि एकीकृत भई यस्ता संस्था गठन भएको तर्कसहित प्रजातान्त्रिक तवरबाटै नागरिकलाई सेवा दिन र सिन्डिकेटजस्ता कामबाट कसैलाई पनि दुःख नदिन आग्रह गरे । लाखौँलाख नेपालीले वैदेशिक रोजगारीमा गई कमाएको विप्रेषणबाट यो देशको अर्थतन्त्र चलेकाले उनीहरुको सेवासुविधा र सुरक्षामा नेपाल सरकारले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए । आफू परराष्ट्रमन्त्री हुँदा खाडीमा काम गर्ने नेपालीको राहदानी दस्तुर घटाउनुका साथै कतिपय खाडी देशमा आफू नै पुगेर नेपाली कामदारको सुविधा र सुरक्षाका लागि त्यहाँको सरकारसँग आवाज उठाएको पनि डा. महतले स्मरण गरे ।