महरा–स्वराज भेटवार्ता, उपराष्ट्रपति पुन चीन जाँदै

महरा–स्वराज भेटवार्ता, उपराष्ट्रपति पुन चीन जाँदै


छिमेकी मित्रराष्ट्र भारतको तीन दिवसीय भ्रमणमा गत आइतबार नयाँदिल्ली पुग्नुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतका विदेश मामिलामन्त्री स्वराजबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको छ । भेटवार्ताका क्रममा दुई देशबीचको विकास सहयोग, व्यापार र पारवहन, सीमापार पूर्वाधार, जलविद्युत् परियोजनालगायत विषयमा विस्तृत समीक्षा र छलफल भएको बुझिएको छ । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपालको सामाजिक, आर्थिक विकासका लागि भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभएको र भारतीय विदेशमन्त्री स्वराजले नेपालमा स्थानीय तहको दुई चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकारलाई बधाई दिनुभएको नयाँल्लिीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतसँग सामूहिक भेट गरी राष्ट्रसङ्घीय मानवअधिकार परिषद् सदस्यमा नेपालको उम्मेदवारीबारे जानकारी गराउने र नेपाललाई समर्थन गर्न अनुरोधसमेत गर्ने उद्देश्य बोकी भारत पुग्नुभएका उपप्रधानमन्त्री महरासँगको कुराकानीका क्रममा समकक्षी स्वराजले हालका दिनमा नेपाल–भारत सम्बन्धले राम्रो प्रगति गरिरहेको र दुई देशबीचको मैत्री सम्बन्ध विभिन्न तहमा भएको भ्रमणले अझ बढी सुदृढ भएको धारणा राख्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री महराले नयाँ दिल्लीस्थित नेपालका लागि गैरआवासीय राजदूतहरूसँग आइतबार नै छलफल गर्नुभएको छ । दिल्लीस्थित नेपाली राजदूतावासमा भएको छलफलमा उहाँले विश्वभरका मित्रराष्ट्रसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिनुका साथै आपसी सहयोग तथा सहकार्यलाई केन्द्रमा राख्नुपर्ने बताउनुभएको बुझिएकोे छ ।

सो असरमा नेपालको वर्तमान संविधान प्रगतिशील तथा अग्रगामी रहेको बताउँदै उपप्रधानमन्त्री महराले संविधानले सबै क्षेत्रका नेपाली समाजको चाहना तथा आकांक्षाको रक्षा गरेको दाबी गर्नुभयो । आफ्ना सबै मित्रराष्ट्रका राजदूतसँग संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्मा दरिलो उम्मेदवारी रहेको भन्दै उहाँले सन् २०१७ को अन्त्यतिर हुने निर्वाचनमा समर्थन गर्न आग्रह गर्नुभयो ।

विदेशमन्त्री स्वराजको निमन्त्रणामा भारत जानुभएका उपप्रधानमन्त्री महरा मंगलबार स्वदेश फर्कंदै हुनुहुन्छ भने मंगलबार नै उपराष्ट्रपति नन्दबहादुर पुन उत्तरतर्फको छिमेकी मित्रराष्ट्र चीन प्रस्थान गर्दैहुनुहुन्छ । चीनले आयोजना गरेको ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति पुन चीन जान लाग्नुभएको हो ।

चीनको गान्सु प्रान्तको राजधानी लान्जाउमा आयोजना गरिएको सो मेला अवलोकनका अलावा उपराष्ट्रपति पुनले आगामी विहिबार विकास र सहयोगका लागि उच्चस्तरीय मञ्चमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनका व्यवसायी एवम् उद्योगीसँग ‘नेपाल–चीनबीच आर्थिक तथा व्यापारिक सहयोग आदानप्रदान’ विषयको सम्मेलनमा समेत उपराष्ट्रपतिले यही असार २३ गते शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने लान्जाउमा रहँदा उपराष्ट्रपति पुनले उच्च चिनियाँ नेता एवम् अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोत बताउँछ । आफ्नी श्रीमती हस्तमालीसहित चीन जान लाग्नुभएका उपराष्ट्रपति पुनको २६ असारमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।