हाल देशमा अढाइ सयभन्दा बढी नगरपालिका कायम गरिएका भए पनि पुराना र स्थापित करिब तीन दर्जन नगरपालिकामा आश्चर्यजनक ढङ्गले नेकपा एमाले विजयी भएको छ । संविधान संशोधनको पक्षमा काङ्ग्रेसले लिएको अडान, उम्मेदवार चयनमा भएको कमजोरी, अप्राकृतिक चुनावी गठबन्धन र कमजोर चुनावी तयारीका कारण काङ्ग्रेसले राजधानी काठमाडौंलगायत देशका महत्वपूर्ण मानिने अधिकांश नगर क्षेत्र गुमाएको छ । प्रदेश नम्बर २ का वीरगञ्ज, कलैया, गौर, जनकपुर, सिमरा, राजविराज, लाहान र मलङ्गवाजस्ता पुराना नगरमा निर्वाचन हुन बाँकी भए पनि निर्वाचन भएका दुई दर्जनभन्दा बढी पुराना नगरमध्ये करिब डेढ दर्जनमा एमालेले आफ्नो पकड बनाएको छ । पुराना र स्थापित नगरहरूमध्ये काठमाडौं, मध्यपुर ठिमी, धुलिखेल, बनेपा, अमरगढी, सिलगढी, बेसिसहर, बाग्लुङ, पोखरा, वालिङ, हेटौँडा, विदुर, तानसेन, सिद्धार्थनगर, बुटवल, घोराही र तुल्सीपुरजस्ता नगरमा एमाले विजयी भएको छ । नेपालगञ्जमा राप्रपाले बाजी मारेको छ भने महेन्द्रनगर, धनगढी, विराटनगर र इटहरीजस्ता नगरहरूको चुनावी परिणाम आउनै बाँकी छ । स्थानीय तहको चुनावमा देशका नगरपालिकामध्ये धेरै सङ्ख्यामा काङ्ग्रेसले चुनाव जितेको भए पनि पुराना र ठूला सहरहरूमध्ये एउटा ललितपुर मात्र लिएर काङ्ग्रेसले चित्त बुझाउनुपरेको छ । राम्रो उम्मेदवार दिएको भए काठमाडौं र माओवादीसँग गठबन्धन नगरेको भए भरतपुरमा काङ्ग्रेस विजयी हुने विश्वास गरिन्छ ।
प्रतिक्रिया