हार्ने काङ्ग्रेस, दोष पाउने देउवा !?

हार्ने काङ्ग्रेस, दोष पाउने देउवा !?


देशको सबैभन्दा ठूलो पार्टीको हैसियतमा रहेको नेपाली काङ्ग्रेस स्थानीय निर्वाचनमा नेकपा एमालेभन्दा पछाडि परेपछि प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको आलोचनात्मक टिप्पणी सुरु भएको छ । उहाँको आप्mनै जिल्ला डडेल्धुरामा समेत अपेक्षाविपरीत एमालेले विजय हासिल गरेपछि देउवाका आलोचकले उहाँको खिल्ली उडाउन थालेका छन् । एकताक देउवाको एकलौटी प्रभावक्षेत्र मानिने सुदूरपश्चिमाञ्चलमा बितेका दश वर्षयता एमाले र माओवादीले पनि आप्mनो राम्रै उपस्थिति जनाउँदै आएका छन् । तथापि डडेल्धुराकै सदरमुकामसमेत गुमाउने अवस्थामा देउवा पुगिसक्नुभएको ठानिएको थिएन । अमरगढी नगरपालिकासहित केही गाउँपालिकामा काङ्ग्रेसको पराजय हुनुलाई कतिपयले देउवाको खस्कँदो लोकप्रियताको सङ्केत भनेका छन् ।

सर्वाधिक ठूलो पार्टीको सभापति र प्रधानमन्त्री रहेका बेला गृहजिल्ला डडेल्धुरामा भएको काङ्ग्रेसको पराजय देउवाको भूमिका या उहाँको छविका कारणले मात्र हो या काङ्ग्रेसले लिएको कमजोर या गलत नीति त्यसको लागि मुख्य जिम्मेवार हो भन्ने प्रश्नको जवाफ खोजी भएको छ । निर्वाचनलगत्तै नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक राखेर समीक्षा गरिने अपेक्षा काङ्ग्रेसका नेता र कार्यकर्ताले गरेका भए पनि अहिलेसम्म सभापति शेरबहादुर देउवाले त्यसप्रकारको बैठक राख्न आवश्यक ठान्नुभएको बुझिँदैन । डडेल्धुरा मात्र होइन काङ्ग्रेसले यसपटक आप्mना अनेकौँ पुराना ‘गढ’हरू गुमाएको छ । नेपालगञ्जजस्तो ठाउँमा राप्रपा विजयी हुन पुगेको छ भने काङ्ग्रेसको परम्परागत प्रभाव क्षेत्र दाङको दुई महत्वपूर्ण नगरपालिका (तुल्सीपुर र घोराही) मा एमालेले झन्डा गाडेको छ ।

बुटवलजस्तो ठाउँमा एमालेविरुद्ध मोर्चाबन्दी गर्दा पनि काङ्ग्रेस सफल हुन सकेन । काठमाडौं र पोखराजस्ता महत्वपूर्ण महानगर काङ्ग्रेसले पहिले नै गुमाएको हो । भरतपुर महानगरमा काङ्ग्रेस विजयी बन्न सक्ने अवस्था हुँदाहुँदै उक्त महानगरपालिका माओवादीलाई सुम्पिएपछि त्यहाँ पनि काङ्ग्रेससमर्थकहरूमा घोर निराशाको अवस्था देखिएको छ । काठमाडौं, पोखरा र चितवनको भरतपुरजस्तो नगर एमालेको ‘नियन्त्रण’मा जाँदा त्यसको दीर्घकालीन असर काङ्ग्रेसलाई पर्ने देखिएको छ । वर्षौंदेखि काङ्ग्रेसको विशेष प्रभावक्षेत्र मानिएको मध्यपुर र बनेपा नगरपालिका यसपटक एमालेको हातमा पुगेको छ । पूर्वको महत्वपूर्ण सहर विराटनगरमा भइरहेको मतगणनामा अहिलेसम्म काङ्ग्रेस अगाडि देखिए पनि त्यहाँसमेत अन्ततः एमाले विजयी हुने विश्लेषण गर्न थालिएको छ । इलामका चारवटै नगरपालिकामा एमाले विजयी भएको छ । पूर्वदेखि सुदूरपश्चिमको सिलगढी, अमरगढी र काठमाडौंदेखि पोखरासम्मका स्थान गुमाउँदा पनि नेपाली काङ्ग्रेसको नेतृत्व गम्भीर बन्न नसक्नुलाई आश्चर्यजनक मानिएको छ । तर, यो निर्वाचनमा काङ्ग्रेस पराजित हुनुमा सभापति शेरबहादुर देउवालाई मात्र जिम्मेवार मान्नु उचित हुने देखिँदैन ।

वैचारिक विचलन आएको काङ्ग्रेसको सङ्गठनसमेत रुग्ण र कमजोर हुनु, उम्मेदवार चयन गर्दा राम्रालाई भन्दा आप्mनालाई प्राथमिकतामा राख्नु, संविधान संशोधनसम्बन्धी विषयमा काङ्ग्रेसले बनाएको धारणाप्रति जनता सहमत र विश्वस्त हुन नसक्नु, माओवादीसँग चुनावी गठबन्धन गर्ने अप्राकृतिक निर्णय लिइनुजस्ता कारणले काङ्ग्रेस एमालेभन्दा पछाडि धकेलिनुपरेको देखिन्छ । यसरी काङ्ग्रेसले नराम्रो पराजय व्यहोर्नुपर्दा पनि सभापति देउवाले पार्टीको बैठक राखी समीक्षा गर्ने र भावी कार्यदिशा तर्जुमा गर्ने तत्परता नलिनुलाई चाहिँ उहाँको कमजोरी मानिएको छ ।

त्यस्तै समयमै केन्द्रीय कार्यसमितिलाई पूर्णता नदिनु, पदाधिकारी चयन नगर्नु, महाधिवेशनको दुई महिनाभित्रै भइसक्नुपर्ने विभागहरूको गठन डेढ वर्ष बितिसक्दा पनि नहुनुलाई पनि देउवाको कमजोरी मानिएको छ । अब मन्त्रिमण्डललाई पूर्णता दिने क्रममा देउवाले विचार पु¥याउनुभएन भने यस विषयलाई लिएर पार्टीमा विवाद र विग्रह पैदा हुन सक्ने सम्भावना बढेको छ । सभापति देउवाले महामन्त्री डा. शशाङ्क कोइरालासँग परामर्श गरेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको बुझिएको छ । यसक्रममा रामचन्द्र पौडेललाई उपेक्षा गरेर अघि बढ्ने नीति देउवाले लिनुभएको छ । त्यसैले पौडेलले कुनै पनि दिन देउवाविरुद्ध अभियान छेड्ने सम्भावना बढेको छ ।