सत्तरी वर्ष काटेपछि तत्कालीन श्री ५ महाराजाधिराज ज्ञानेन्द्रको ७१औँ शुभजन्मोत्सव पहिलेभन्दा फरक शैलीमा मनाउन लागिएको छ । विगतका वर्षहरूमा परिवारका सदस्य, आफन्त तथा कर्मचारीका लागि छुट्टै समय र जन्मदिनमा शुभकामना दिन चाहने सर्वसाधारणका लागि छुट्टै समय तोक्ने गरिएको भए पनि यसपटक भने सबैलाई बिहान ११ बजेको समय तोकिएको छ । यही असार २३ गते शुक्रबार उहाँको ७१औँ जन्मोत्सव मनाइँदै छ ।
प्राप्त जानकारीअनुसार, शुभजन्मोत्सवका लागि पूर्वराजदूत एवम् पूर्वनिर्वाचन आयुक्त रामभक्त ठाकुरको अध्यक्षतामा नागरिक शुभजन्मोत्सव मूल समारोह समिति गठन भएको छ । जसमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ । समितिले सांस्कृतिक तथा धार्मिक पक्षबाट विभिन्न कार्यक्रमहरू गर्नेछ । यसैगरी चर्चित गायक योगेश्वर अमात्यको समूहले शुभकामना गीत गाउने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि नै राजा ज्ञानेन्द्र बस्दै आएको स्थान महाराजगञ्जस्थित निर्मल निवासको ढोका खुल्ला गरिनेछ । आफन्त, निकटवर्ती, कर्मचारीलगायत सर्वसाधारणले पनि उहाँलाई शुभकामना दिन पाउनेछन् । प्रेसका लागि ११ बजेदेखि नै खुला गरिने बताइएको छ । दिनभरि निर्मलनिवासमा शुभकामना कार्यक्रमपछि सोही साँझ आफन्त तथा परिवारका सदस्यका लागि सोल्टी होटेलमा रात्रिभोजको आयोजना गरिएको छ ।
यसैबीच पूर्वयुवराज पारस र युवराज्ञी हिमानीबीच सम्बन्धमा क्रमिक सुधार आइरहेको दरबार स्रोतले जनाएको छ । यसबीचमा सँगै नबसे पनि केही समयअघि दक्षिणकाली जाँदा छोराछोरीका साथ दुवैजना गएका थिए । पारसले हिमानीसँग निकटता बढाउन खोजे पनि हिमानी भने अझै केही समय ‘पर्ख र हेर’को अवस्थामा रहेको बुझिएको छ ।
प्रतिक्रिया