प्रचण्डको आँगनमा दोस्रो विवाह

प्रचण्डको आँगनमा दोस्रो विवाह


महिना दिन अघि मात्र पत्नीसँग सम्बन्धविच्छेद गरेका एक कार्यकर्ताको माओवादी अध्यक्ष प्रचण्डले आफ्नै घरको आँगनमा विवाह गराइदिएका छन् । प्राप्त जानकारीअनुसार प्रचण्ड प्रधानमन्त्री हुँदा उनको सचिवालयमा प्रेस सहयोगीको रूपमा रहेका मनोहरि तिमिल्सिनाको विवाह प्रचण्डले लाजिम्पाटस्थित आप्mनो निजी निवासमा यसै साता गराइदिएका हुन् । प्रचण्ड, उनकी पत्नी सीता दाहाल, सुपुत्र प्रकाश दाहाल र बुहारी बिना मगर दाहालको विशेष उपस्थितिमा सम्पन्न उक्त वैवाहिक समारोहको सञ्चालन (उद्घोषकका रूपमा) पत्रकार गोविन्द आचार्यले गरेका थिए । वैवाहिक समारोहमा दुलाहा दुलहीभन्दा खुसीपूर्ण मुद्रामा प्रकाश दाहाल र उनकी पत्नी बिना देखिएका थिए । पराजुली थरकी कन्यासँग भएको वैवाहिक समारोहको समाप्तिपछि प्रचण्ड र उनकी पत्नी सीतालगायतले नवदम्पतीलाई बधाई तथा शुभकामना दिएका थिए । दुलाहा मनोहरिको पहिलो पत्नीका तर्फबाट जन्मिएका एक छोरा छन् ।

पत्नीसँगको विवादका कारण बेलाबखत भौँतारिने र तनावग्रस्त मुद्रामा देखापर्ने मनोहरि केही महिनाअघि अचानक बेपत्ता भएका थिए र नेपाल प्रहरी लगाएर उनको पत्ता लगाउनुपरेको थियो । एक महिनाअघि पत्नीसँग सम्बन्धविच्छेद गर्ने ‘सफलता’ प्राप्त गरेका मनोहरि यति चाँडो दोस्रो विवाह गर्न पाएकोमा प्रसन्न भएको बताइएको छ ।