प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रविना प्रेस स्वतन्त्रता नरहने भएकोले प्रजातन्त्रको पहरेदारका रूपमा उभिएर कर्तव्य निर्वाह गर्न प्रेस जगतसँग आग्रह गर्नुभएको छ । राजधानीमा विहिबार आयोजित नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवम् इमेज च्यानल टेलिभिजनका समाचार प्रमुख डा. महेन्द्र विष्टद्वारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ नामक पुस्तकको लोकार्पण समारोहलाई विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रेसबाट गलत सामग्री या समाचार सम्प्रेषित भएमा सम्बन्धित पात्रप्रति अन्याय हुने र त्यसलाई मानवअधिकार हननको रूपमा हेरिनुपर्ने अवस्था सिर्जना हुने उल्लेख गर्दै अत्यन्त संयमित र जिम्मेवार रूपमा प्रेस प्रस्तुत हुनुपर्ने जिकीर गर्नुभयो ।
प्रधानमन्त्री देउवाले नेपालको प्रजातन्त्र टिकाउने भनेकै प्रेस स्वतन्त्रताले हो भन्दै सरकारले प्रेस स्वतन्त्रतालाई संविधानमै सुनिश्चित गरेको र अहिले प्रजातन्त्रलाई सुदृढ गरी प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रेस जगतको महत्वपूर्ण योगदानको आवश्यकता रहेको बताउनुभयो । भौगोलिक विविधता, विभिन्न जातजाती, भाषा र संस्कृति विशेषको मुलुक नेपालको राष्ट्रिय एकतालाई थप मजबुद बनाउन सञ्चार जगतले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुका साथै प्रेस स्वतन्त्रताले सुनिश्चित गरेको अधिकारलाई पत्रकारले सत्यतथ्यरुपमा समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको सुझाव थियो ।
प्रजातन्त्रमा प्रेसको भूमिका अत्यन्त महत्वपूर्ण हुने तथ्यलाई आफ्नो सम्बोधनमा विशेष जोड दिँदै प्रधानमन्त्री देउवाले लोकतन्त्र रहेमात्र प्रेस स्वतन्त्रता रहने स्मरण गराउँदै भन्नुभयो– ‘प्रेस प्रजातन्त्रको खम्बा हुनाले नै गम्भीरताका साथ उत्तरदायी भएर कर्तव्य निर्वाह गर्नुपर्छ ।’
विशेष अतिथिको रूपमा पूर्वप्रधानन्यायाधीश एवम् राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार र प्रेसबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै नागरिकको हकअधिकार सुनिश्चितताका लागि प्रेस निर्वादरुपमा स्वतन्त्र हुनुपर्ने धारणा व्यक्त गर्नुभयो भने पुस्तकको समीक्षा गर्दै प्राध्यापक पी खरेलले लेखक विष्टको अनुसन्धानमूलक यो पुस्तकमा नेपालको इतिहासमा सञ्चारमाध्यमको विकासक्रमको अवस्था, के–कस्ता व्यवधान खडा भए त्यसलाई समेटेर सूचकाङ्क सशक्त ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो । लेखक डा. विष्टले मुलुकले ऐतिहासिक रूपमा ब्यहोरेको सङ्कटकाल र द्वन्!द्वकाल जस्ता दुवै विशेष परिस्थितिमा प्रधानमन्त्रीको दायित्व शेरबहादुर देउवाले नै निर्वाह गर्नुभएको तथ्य स्मरण गराउनुभयो ।
ज्ञातव्य छ, ‘नेपालमा प्रेस स्वतन्त्रता’ पुस्तकमा प्रेस स्वतन्त्रता र पत्रकारिताको अवधारणा, विकास, विश्वव्यापी मान्यता र वर्तमान अवस्थाको विशद पुनरावलोकनका साथै नेपालको वर्तमान अवस्थाको साङ्गोपाङ्ग विश्लेषण गरिएको छ ।
प्रतिक्रिया