पूर्वराजा भन्नुहुन्छ– ‘देश जोगियोस्, जोडियोस्, एकताभाव कायम होस्’

पूर्वराजा भन्नुहुन्छ– ‘देश जोगियोस्, जोडियोस्, एकताभाव कायम होस्’

‘देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर रहोस् यही नै मेरो मनोकांक्षा हो । यस्तो भावना आम नेपालीमा र खास गरी राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरूमा रहोस् यही नै मेरो आग्रह हो । राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एकजुट हुनुपरेको छ ।’

उपरोक्त सन्देश पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहले आफ्नो ७१औँ जन्मोत्सवका अवसरमा सार्वजनिक गर्नुभएको हो । आफ्नो लागि पद, प्रतिष्ठा र प्रशंसाभन्दा पनि मैले राख्ने निरन्तरको चाहना देशभक्ति नै हो भन्दै पूर्वराजाले भन्नुभएको छ, ‘हाम्रा पूर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा समृद्धिको बाटोमा अघि बढोस् मेरो मुल चाहना र कामना यही नै हो ।’

सन्देशको पूर्ण पाठ–

‘आरोह–अवरोहको जीवन क्रममा मैले सात दशक पार गरेको छु । यो असार २३ का दिनदेखि म ७१ वर्षको उमेरमा टेकेको छु ।’

‘यो जन्मदिनको उपलक्ष्यमा मलाई शुभेच्छा प्रकट गर्ने, शूभकामना दिने र मप्रति आस्था, भरोसा भाव राख्ने नेपाली दिदीबहिनी तथा दाजूभाइ सबैलाई म हार्दिक आभार व्यक्त गर्दछु ।’

‘पद, प्रतिष्ठा र प्रशंसाभन्दा पनि मैले राख्ने निरन्तरको चाहना देशभक्ति नै हो ।’

‘हाम्रा पूर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा समृद्धिको बाटोमा अघि बढोस् मेरो मुल चाहना र कामना यही नै हो ।’

‘देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर रहोस् यही नै मेरो मनोकांक्षा हो । यस्तो भावना आम नेपालीमा र खास गरी राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरूमा रहोस् यही नै मेरो आग्रह हो । राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एकजुट हुनुपरेको छ ।’

‘हरेक पल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपुर्व एकताका लागि हामी सबै सधैं नै तयार रहनू पर्दछ ।’

‘पुर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तुरी हराएको मृग झैँ शून्यतामा हराई रहेका छौँ । हामी क्रियाशील उर्जा बोकेर ब्युँतिन अब ढिला गर्नु हुँदैन ।’

‘निराशा बोकेर विदेशिएको उर्जाशील युवाशक्तिलाई स्वदेशमै गरि खाने बाटो बनाई दिन उपाय खोज्न पनि हामी नै जागरुक हुनु पर्दछ ।’

‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ भन्ने सारभूत सुत्रको स्मरण गर्न पनि सबै नेपालीलाई हार्दिक आग्रह गर्दछु ।’

‘श्री पशूपतिनाथले हामी सबैमा सुबुद्धि र प्रेरणा दिउन् ।’

२३ आसाढ २०७४