फेरि सर्यो भरतपुर मतगणना विवादको सुनुवाइ

फेरि सर्यो भरतपुर मतगणना विवादको सुनुवाइ


सर्वत्र चासो रहेको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ सर्वोच्च अदालतले सोमबारका लागि सारेको छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा सुनुवाइ शुरु भए पनि शुक्रबार नभ्याउने भएपछि सुनुवाइ सोमबारका लागि सारिएको हो । यसअघि यो विवादमा कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो ।च्यातिएको मतपत्रसहित प्रमाणका अरु कागजपत्र असार १३ गते नै
अदालत पु¥याइसकिएको छ ।

ज्ञातव्य छ, निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयका विरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नं १९ का नेकपा एमाले उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । रिट निवेदनमाथिको पहिलो चरणको सुनुवाइमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

मतगणनामा भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रका रेणू दाहालबीच तीव्र प्रतिस्पर्धा थियो । माओवादी कार्यकर्ताले १९ नं वडाको मतपत्र च्यातेपछि यो विवाद सर्वोच्च अदालतमा पुगेको हो ।