हालै एकीकरणको घोषणा गरेका तराईकेन्द्रित दलहरुबीच चलेको दल दर्तासम्बन्धी विवाद सहमतिमा टुंगिएको छ । केही समयअघि एकीकृत भई राष्ट्रिय जनता पार्टी नेपाल गठन भए पनि सो दल आधिकारिक रुपमा निर्वाचन आयोगमा दर्ता भइसकेको छैन । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकता भएर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो । गठनको केही सातामै नेताहरुबीच विवाद खडा भएकोले दल दर्ताको प्रक्रिया नै अवरुद्ध हुन पुगेको थियो भने स्थानीय तहको निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवादमा पनि नेताहरु विभक्त बनेका थिए ।
पछिल्ला दिनमा नयाँ दर्ता गर्ने दलको विधानमा प्रस्तावनामै गजेन्द्र नारायण सिंहको नाम उल्लेख गर्ने र नगर्ने पक्षमा राजपाका नेताहरु विभक्त देखिएका थिए । अन्ततः विधानको प्रस्तावनामा स्वर्गीय गजेन्द्रनारायण सिंहको नाम उल्लेख नगर्ने तर पार्टीको घोषणापत्रमा भने महत्वका साथ गजेन्द्र नारायण सिंहको योगदानबारे उल्लेख गरिने सहमतिका साथ नेताहरु दल दर्तामा जान तयार भएको राजपा नेतृ चन्दा चौधरीले जानकारी दिनुभयो ।
आगामी आइतबार मात्र निर्वाचन आयोगमा दल दर्ता गरिने मानसिकतामा रहेका राजपा नेताहरु अन्ततः शुक्रबार नै दर्ता प्रक्रिया पूरा गर्न सहमत भएका हुन् ।
प्रतिक्रिया