को हुन् विराटनगर महानगरपालिका प्रमुखमा विजयी पराजुली ?

को हुन् विराटनगर महानगरपालिका प्रमुखमा विजयी पराजुली ?


विराटनगर महानगरपालिकाको मत गणना कार्य शनिबार राति सम्पन्न भएको छ । सो महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुली विजयी बन्नुभएको छ । पराजुलीलाई २३ हजार ३१ मत हासिल भएको छ भने उपप्रमुखमा २० हजार एक सय ४६ मत ल्याएर नेपाली कांग्रेसकै इन्दिरा कार्की विजयी बन्नुभएको छ ।

प्रमुखमा विजयी पराजुलीका निकट प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेद्वार विनोद ढकालले १७ हजार ३ सय २२ मत प्राप्त गरेका छन् । मत परिणाममा तेस्रो स्थान हासिल गरेको सङ्घीय समाजवादी फोरम नेपाललाई भने १४ हजार ९ सय ५८ मत प्राप्त भएको छ । सो पार्टीले उमेश यादवलाई उम्मेदवार बनाएको थियो ।

त्यस्तै, उपप्रमुख पदका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नमिता न्यौपानेलाई ११ हजार ५ सय २४ मत प्राप्त भएको छ । नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले चाहिँ १० हजार ५ सय ३६ मत प्राप्त गर्नुभएको छ । उन्नाइसवटा वडा रहेको विराटनगर महानगरपालिकामा काँग्रेसले १, ३, ४, ७, ८, ९ र १६ वडा गरी सातवटा अध्यक्षलगायत सदस्य पदमा समूहगत रुपमा र वडा नं १९ मा काँग्रेसका विद्रोेही समूहले जितेको छ ।

प्राप्त मत परिणामअनुसार सङ्घीय समाजवादी फोरमले १२, १३, १४, १५,१७ र १८ गरी छवटा वडामा, नेकपा (एमाले)ले २, ५ र ११ गरी तीनवटा वडा र माओवादी केन्द्रले वडा नं ६मा जित हात पारेको छ । वडा नं १० मा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् । ज्ञातव्य छ, विराटनगर महानगरपालिकामा भएको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि एमालेले नेपाल लोकतान्त्रिक फोरमसँग र सङ्घीय समाजवादी फोरम नेपालले माओवादी केन्द्रसँग तालमेल गरेको थियो ।

महानगरपालिका प्रमुखमा निर्वाचित बन्नुभएका ४४ वर्षीइ पराजुली विराटनगर–३ पोखरियानिवासी हुनुहुन्छ । उहाँ कांग्रेसको नगर सभापतिसमेत हुनुहुन्छ । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उहाँ महेन्द्र मोरङ कलेजको स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घबाट २०५५ सालमा सदस्य, २०५७ सालमा कोषाध्यक्ष, २०५९ सालमा सचिव र २०६१ सालको निर्वाचनमा स्ववियुको सभापतिमा निर्वाचित हुनुभएको थियो ।