प्रधानमन्त्रीद्वारा नयाँ जिल्ला पैदा गर्ने आश्वासन

प्रधानमन्त्रीद्वारा नयाँ जिल्ला पैदा गर्ने आश्वासन


नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न स्थानीयवासी एवम् जनप्रतिनिधिहरुले लिएको पहलकदमीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सकारात्मक रुपमा लिनुभएको छ । यसका लागि आफूलेसमेत पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ । नवलपरासीको नवलपुर क्षेत्रका सांसद एवम् जिल्लाका राजनीतिक दलको टोलीसँग शनिबार भएको भेटमा प्रधानमन्त्री देउवाले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न आफूले पहल गर्ने आश्वासन दिनुभएको हो ।

दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लालाई थप नवलपुर जिल्ला कायम हुनुपर्ने माग राख्दै शनिबार सो टोलीले प्रधानमन्त्री देउवासँग भेटघाट गरेको थियो । नवलपुर क्षेत्र भूगोलमा पनि ठूलो र जनसङ्ख्या पनि धेरै रहेकोलगायतका विषय राख्दै टोलीले नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र नवलपुर जिल्ला समन्वय समिति निर्माण गर्न माग गरेको छ । ज्ञातव्य छ, संविधानमा उल्लेखित सात प्रदेशले नवलपरासी जिल्लालाई बर्दघाट त्रिवेणीदेखि पूर्व नवलपुर र बर्दघाट पश्चिमको क्षेत्रलाई परासी गरी दुई भागमा विभाजन गरेको थियो ।

सर्वपक्षीय रुपमा प्रस्तुत भएको सो टोलीमा नवलपरासी क्षेत्र नं १ का सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइराला, एमालेका केन्द्रीय सदस्य तिलक महत, कांग्रेसका जिल्ला सभापति विष्णु लामिछाने, एमाले नवलपुर क्षेत्रका संयोजक रोशनबहादुर गाहा, माओवादी केन्द्रका नवलपुर संयोजक, घनलाल सापकोटा आदि सहभागी थिए ।