फेरि बल्झिँदै ‘क्लीन फिड’को कलह

फेरि बल्झिँदै ‘क्लीन फिड’को कलह


सरकारले ‘क्लीन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) लागू गरेमा केवल टेलिभिजन कम्पनीहरुले आगामी साउन १ गतेदेखि नेपालमा प्रसारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा गरेका छन् । नेपाल केबल टेलिभिजन महासङ्घ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरी सरकारले लागू गर्ने तयारी गरेको क्लीन फिड नीति फिर्ता लिन माग गरेका हुन् ।

व्यवसायीहरुले क्लीन फिड नीति—२०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरीत रहेको तर्क गर्दै फिर्ता नभए साउन १ गतेदेखि सबै टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएपछि उक्त नीति लागू गर्ने भनी निकै समयदेखि गरिँदै आएको सरकारी तयारी धरापमा परेको ठानिएको छ । व्यवसायीको विरोधका बाबजुद नीति लागू गरेरै छाड्ने सरकारी मानसिकता रहेको सम्बद्ध एक कर्मचारीले बताए ।

यता व्यवसायीको गुनासोचाहिँ भू–परिवेष्ठित र खुला सिमाना भएको मुलुकमा उक्त नीति लागू गर्दाविदेशी डिटीएचको चोरी पैठारी हुनसक्ने र नेपाली डिटीएच कम्पनी तथा केवल कम्पनी धरासायी बन्ने भन्ने छ । विज्ञप्तिमा भनिएको छ– “विज्ञापनरहित नीति, २०७३ लागू गरिएमा नेपाली डिटीएच कम्पनी तथा केबल कम्पनी बन्द नै हुन्छन् भने सोबाट नेपाली टेलिभिजन पनि बन्द हुनेछन्, किनकि हाल नेपाली टेलिभिजनको प्रसारण डिटीएच कम्पनी तथा केबल कम्पनीमार्फत भइरहेको छ । यसरी विज्ञापनरहित नीति लागू गरिएमा यस क्षेत्रमा लगानी भएको अर्बौं रुपैयाँ खेर जाने स्पष्ट छ ।”