‘अन्तर्घाती’लाई सजाय

‘अन्तर्घाती’लाई सजाय


नेपाली काङ्ग्रेस रुपन्देहीका सभापति एवम् सासंद अब्दुल रज्जाकको सभापतित्वमा सोमबार भैरहवामा बसेको जिल्ला कार्यसमीतिको बैठकले आधिकारिक उम्मेदवारको बिरुद्ध उठ्ने र बागी उम्मेदवारको समर्थक तथा प्रस्तावकमा बस्नेलाई समेत कारवाही गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचनको समीक्षा गर्दै अरु बेला काङ्ग्रेस हुँ भन्ने र निर्वाचनका बेला असहयोग गर्नेलाई कार्वाही गर्ने निर्णय लिएको रुपन्देही काङ्ग्रेसका एक पदाधिकारीले बताए ।
स्थानीय तह निर्वाचनमा रुपन्देहीका कतिपय स्थानमा आफ्नै उम्मेदवार बिरुद्ध उम्मेदवारी परेका थिए । जसका कारण जनमानसमा नकारात्मक असर परी ती स्थानमा झिनो मतले काङ्ग्रेसले पराजय ब्यहोर्नु परेको थियो ।

निर्वाचनमा अन्तरघात गर्ने तर पार्टीले कार्वाही नगर्ने र त्यस्ता ब्यक्तिहरुको मनोवल बढ्ने आशंका भइरहेका बेला काङ्ग्रेस रुपन्देहीको यस्तो निर्णय आएको हो । काङ्ग्रेसको विधानको परिच्छेद–५ को दफा–३४ को उपदफा २ मा आधीकारीक उम्मेदवार बिरुद्ध बागी उठ्ने, उसको प्रस्तावक तथा समर्थक बस्नेलाई कार्वाही गर्ने ब्यबस्था छ । नेपाली काङ्ग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले पार्टीको अनुशासन कायम गर्दै काङ्ग्रेसलाई थप मजबुत र एकताबद्ध बनाउन यस्तो निर्णय गरिएको बताए ।

यस्तै काङ्ग्रेसले स्थानीय तह निर्वाचनमा आफ्ना विजयी उम्मेदवारलाई बधाई समेत दिएको छ । निर्वाचनमा काङ्ग्रेसलाई मतदान गर्ने सबैलाई काङ्ग्रेसले आभारपूर्वक धन्यवाद दिएको छ ।

नेपाली काङ्ग्रेस, सिद्धार्थनगर वडा नं. १ वडा समितिले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै पार्टीलाई असयोग र बागी उम्मेदवार दिनेलाई कार्वाही गरेको छ । नगर सहसचिव सुमित प्रधानसहित १० जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको छ ।
– चन्द्रकान्त खनाल