छिमेकी मुलुकका दूतावासमा शान्तिकर्मीहरुको प्रदर्शन

छिमेकी मुलुकका दूतावासमा शान्तिकर्मीहरुको प्रदर्शन


मानवअधिकार तथा शान्ति समाजको आयोजनामा मंगलबार चिनियाँ र भारतीय दुतावास अघिल्तिर धर्ना प्रदर्शन गरिएको छ । ‘युद्ध निषेध : शान्ति विशेष’ भन्ने मान्यतासहित युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न र शान्तिलाई प्रवद्र्धन गर्न निरन्तर अभियानरत रहेको दाबी गर्दै आएको समाजले चीनियाँ र भारतीय दुतावास अगाडि चीन र भारत दुवै देशका सरकारलाई उत्तेजनामा नआई वार्ताको माध्यमबाट समस्याको समाधान गर्न जोड दिदैँ धर्ना प्रदर्शन आयोजना गरेको हो ।

दिउँसो १ बजे देखि चीनियाँ दुतावास अगाडि र २ बजेदेखि भारतीय दुतावास अघिल्तिर प्रदर्शन गरिएको थियो । धर्ना प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कंडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनीसहित दर्जनौँ शान्तिवादी कार्यकर्ता सम्मिलित थिए ।

धर्नाको अन्त्यमा सम्बोधन गर्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले शान्तिप्रेमी नागरिकहरुले युद्धलाई बढावा दिने चीन होइन शान्तिलाई प्रोत्साहन गर्ने चीन हेर्न चाहेको र आवेगमा आउने होइन सहयोगात्मक भारतको अपेक्षा गरेको अभिव्यक्ति दिए । चीनियाँ सत्ता लोकतान्त्रिक नभएको हुदाँ यदाकदा संसय हुने र भारतीय सत्ता लोकतान्त्रिक भएपनि यदाकदा बहकिनेतर्फ इंगित गर्दै पहाडीले २ अर्ब ६० करोडभन्दा बढी नागरिकबीच कुनै समस्या नभएको र नागरिकहरु युद्धविरोधी र शान्तिको पक्षपाती भएको उल्लेख गरे ।

हालै चीन र भारतबीच बढ्दै गएको तिक्तताप्रति शान्ति समाजले गहिरो चिन्ता व्यक्त गरेको छ । दुवै देशका सञ्चारमाध्यम र सरकारी निकायहरुको भाषा पनि उत्तेजक हुँदै गएको देखिएको भन्दै समाजले युद्धोन्मुख अवस्थाको चित्रण भएकोप्रति चिन्ता व्यक्त गर्दै यो विश्वशान्तिका लागि खतरा भएको जनाएको छ । युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न र वार्ताको माध्यमबाटै समस्या हल गर्न आग्रहसहित समाजका तर्फबाट चीनियाँ राष्ट्रपति सि जिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखिएको पत्र पनि असार २७ गते काठमाण्डौँस्थित चीनियाँ र भारतीय राजदुतावासमा हस्तान्तरण गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘हालै चीन र भारतबीच बढ्दै गएको तिक्तताप्रति शान्ति समाज गहिरो चिन्ता व्यक्त गर्दछ । एशियाका दुई विशाल मुलुक चीन र भारतको परिचय प्राचीन सभ्यता, समृद्ध सम्पदा र ऐतिहासिक विशिष्टता पनि हो भने वर्तमानमा दुवै देशहरुले हासिल गरेको आर्थिक उन्नति हामी सबैका लागि गर्वको विषय हो । हामी चीनियाँ र भारतीय जनताका मित्र हौँ र युद्ध विरोधी हौँ र समग्र नागरिकहरुका तर्फबाट विशेष आह्वानसहित युद्ध निषेध : शान्ति विशेष अभियान सञ्चालन गरिरहेका छौँ । चीन र भारतबीच विद्यमान तनावको सन्दर्भमा युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न र वार्ताको माध्यमबाटै समस्या हल गर्न चीन-भारत सरकारलाई हामी विशेष आग्रह गर्दछौँ ।’