संशोधन प्रस्तावप्रति एमालेको आपत्ति

संशोधन प्रस्तावप्रति एमालेको आपत्ति


प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधनको विषयमा छलफल गर्ने सहमतिविपरीत सत्ता गठबन्धनद्वारा पुनः संविधान संशोधनको चर्चा चलाएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गत सोमबार सम्पन्न नेकपा (एमाले) स्थायी कमिटीको बैठकका निर्णयबारे जानकारी दिँदै केन्द्रीय कार्यालयका सचिव प्रदीप ज्ञवालीले प्रस्तावित संविधान संशोधन प्रस्ताव राष्ट्रिय हीतविपरित र अनुचित रहेको पार्टीको अडान दोहो¥याउँदै संशोधनको प्रस्ताव पारित हुन नसक्ने जनाएका छन् ।

असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनद्वारा राज्यशक्तिको चरम दुरुपयोग गर्दै नेकपा एमालेलाई चौतर्फी घेराबन्दी गरिएको आरोप पनि सो दलले लगाएको छ । यस्ता प्रतिकुलताका बाबजुद एमाले पहिलो शक्तिको रुपमा स्थापित भएकोमा बैठकले सन्तोष व्यक्त गरेको ज्ञवालीले जनाएका छन् । उनका अनुसार आगामी असोज २ गतेका लागि तय गरिएको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन निष्पक्ष, शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ भने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रयोजनका लागि यही साउन १ गतेदेखि मतदाता नामावली संकलन गर्ने सूचना निर्वाचन आयोगबाट जारी भएको सन्दर्भमा सोहीअनुसार योजनाबद्ध रुपमा लाग्न आफ्ना तल्ला तहका कमिटीहरूलाई एमालेले निर्देशन गरेको छ ।