उपाय नसुझेपछि ‘थप छलफल’ गर्ने सहमति

उपाय नसुझेपछि ‘थप छलफल’ गर्ने सहमति


संविधान संशोधन प्रस्ताव पारित गराउन आवश्यक सहमति जुटाउने एजेण्डाका साथ मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताको बैठक ठोस निश्कर्षमा पुग्न सकेन । कुनै उपाय नसुझेपछि उनीहरु संविधान संशोधन प्रस्ताव पारित गर्न व्यवस्थापिका–संसदमा भएका सबै दलसँग आवश्यक थप छलफल गर्ने भन्दै बैठक टुंग्याएर हिँडेको बुझिएको छ ।

जसरी पनि असोज २ मा हुने तेस्रो चरणको निर्वाचनमा राजपा नेपाललाई सहभागी गराइने भन्दै त्यसका लागि आवश्यक राजनीतिक वातावरण बनाउने अठोटका साथ कांग्रेसका नेताहरु लागिपरेका छन् । मंगलबारको बैठकमा पनि संविधान संशोधनका लागि आवश्यक दुईतिहाई बहुमत पु¥याउन थप कोसिस गर्ने र सबै पार्टीसँग सबैले कुरा गरेर संशोधन प्रस्ताव पारित गर्ने सहमति भएको छलफलमा सहभागी एक नेताले बताए । बैठक सकारात्मक भएको जानकारी गराउँदै ती नेताले अब हुने सबै निर्वाचनमा राजपा नेपाललाई सहभागी गराउन आवश्यक वातावरण बनाउने विषयमा घनिभूत छलफल भएको उल्लेख गरे ।

राजपा नेपालले संविधान संशोधनसँगै जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या थप गर्नुपर्ने, तराई मधेस आन्दोलनमा निधन भएकालाई शहीद घोषणा गर्नुपर्ने, आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता हुनुपर्ने, घाइतेलाई उपचार खर्च, क्षतिपूर्तिलगायतका माग गर्देै आएको छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले बैठकमा संविधान संशोधनलगायत आफ्ना मागका सम्बन्धमा सरकार गम्भीर रुपमा लागेको र केही दिनमै परिणाम आउने आश्वासन पाएको जानकारी दिएका छन् । संविधान संशोधन आफ्नो मुख्य माग भएकाले त्यसका लागि आवश्यक बहुमत पु¥याउने सम्बन्धमा आफूहरु पनि जिम्मेवार भएर लाग्ने उनको भनाई छ ।

उक्त बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा नेपालका अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताहरुको उपस्थिति थियो ।