महन्थ भन्छन्- अंगीकृत नागरिकलाई उपल्लो ओहदा दिइन्नँ !

महन्थ भन्छन्- अंगीकृत नागरिकलाई उपल्लो ओहदा दिइन्नँ !


राज्यसँग असन्तुष्ट भई चुनाव नै वहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले माग गर्दै आएको एउटा महत्वपूर्ण बुँदा नागरिकता प्राप्तिसम्बन्धी पनि हो । तर, नागरिकता प्राप्तिमा अत्यधिक सहजता प्रदान गरिए अंगीकृत नागरिक राज्यको प्रमुख ओहदामा सजिलै पुग्न सक्ने र कालान्तरमा त्यसैबाट मुलुकमाथि घात हुने भन्दै राज्य तराईकेन्द्रित दलका मागप्रति कठोर बनिरहेको छ । सायद, यही गुह्य या प्रमुख दलहरु असहमत हुनुको चुरो बुझेर हुन सक्छ, राजपाका शीर्ष नेता महन्थ ठाकुरले अंगीकृत नागरिकसम्बन्धमा महत्वपूर्ण अभिव्यक्ति दिएका छन् । वीरगन्ज महानगरपालिका–२१ पटेलनगरमा आइतबार आयोजित एक कार्यक्रममा राजपा अध्यक्षमण्डलका संयोजक ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको प्रस्ट्याएका हुन् ।

सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै नेता ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको उल्लेख गर्दैयसको उल्टो प्रचार गरी मधेसकेन्द्रित दललाई बदनाम गर्ने प्रयास भएको जिकिर गरे। वैवाहिक अंगीकृत नागरिकता रहेकी महिलाले श्रीमानसरह अधिकार पाउनुपर्ने विचार उनले व्यक्त गरे ।

मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन राजपा तयार रहेको दोहो¥याउँदै नेता ठाकुरले निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई पुनः आग्रह गरे । निर्वाचनमा दल दर्ता गरिए पनि मधेसका माग सम्बोधन नभएसम्म राजपा चुनावमा नजाने हठ पनि उनले प्रकट गरे ।

तथापि, तराईकेन्द्रित दलका नेताहरुमा एकाएक यस्तो लचकता कसरी आयो भन्दै नागरिक समाजका कतिपय अगुवाहरुले शंका व्यक्त गरेका छन् । संविधान संशोधनलाई थाती राखेर निर्वाचनमा जान सकिने, अंगीकृत नागरिकलाई उपल्लो ओहदा प्रदान नगरिने जस्ता अभिव्यक्ति केही दिनयता राजपाका नेताहरुले सार्वजनिक गर्दै आएका छन् ।